काठमाडौं । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले स्वायत्त ताम्सालिङ प्रदेश निर्माण गर्ने आफूहरुको अन्तिम चाहना रहेको बताउनुभएको छ ।
ताम्सालिङ संघर्ष समिति पुनर्गठन तथा घोषणाका लागि बिहीबार काठमाडौं चुच्चेपार्टीमा आयोजित कार्यक्रममा अध्यक्ष गोलेले दीर्घकालीनरुपमा संघीय नेपालमा स्वायत्त ताम्सालिङ प्रदेश निर्माण गर्ने आफूहरुको अन्तिम चाहना रहेको बताउनुभएको हो ।
तर अहिलेको बटमलाइन भने नेवा-ताम्सालिङ प्रदेश नामकरण गराउने, वाग्मती प्रदेश खारेजी गराउन आन्दोलन गरिने प्रस्ट पार्नुभयो । नेवा-ताम्सालिङ प्रदेश नामकरण मागसहित आन्दोलनका लागि असार ३० गते नेवार र तामाङसहितको संयुक्त 'नेवा-ताम्सालिङ संयुक्त संघर्ष समिति' घोषणा गरिने जानकारी दिनुभयो ।
त्यस्तै तामाङ र नेवारको छुट्टाछुट्टै संघर्ष समिति बन्ने पनि उहाँको भनाइ छ । तीनवटा संघर्ष समिति एक साथ काम गर्ने उहाँले बताउनुभयो । प्रदेशभित्रका प्रमुख जातिमा मात्रै आन्दोलन तयारी सीमित नरहने भन्नु हुँदै उहाँले २५ असारमा करिब १३ वटा अल्पसंख्यक जातिहरुसँगको अन्तरक्रिया नेपाल आदिवासी जनजाति महासंघको हलमा गरिने पनि जानकारी गराउनुभयो ।
त्यसमा कम जनसंख्या भएकाहरु मुद्दाको रुपमा कहाँ-कहाँ स्वायत्तता सम्भव छ, विशेष संरक्षित क्षेत्रजस्ता संवैधानिक व्यवस्था अनुसार संघर्ष समितिहरुले दबाब दिने जनाउनुभयो । अहिले संघीयता, गणतन्त्र, धर्मनिरपक्षेता, लोकतन्त्रको रक्षा गर्नु अहिले चुनौतीको विषय बनेको उल्लेख गर्नुहुँदै २०७९ को निर्वाचनपछिको सिनले पहिलो पुस्तालाई दोस्रोले हस्तक्षेप गर्ने खोजिएको तर ती नयाँ शक्तिहरु निकै प्रतिगामी रहेको उहाँले आरोप लगाउनुभयो ।
ती पार्टीहरुले संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षतालगायत मुद्दा खत्तम पार्न लागिपरेको उहाँको भनाइ छ । भ्रष्टाचार, सुशासनको मुद्दा उठाएर मूलमुद्दालाई सिध्याउने प्रपच्च उनीहरु रहेकोले सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
मूलमुद्दा सिध्याउन खोज्ने प्रतिगामीहरुलाई खबरदारी गर्दै नेवा-ताम्सालिङ पक्षको आन्दोलन सबैको पहिचान, पहुँच र प्रतिनिधि हो भन्ने गरी अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।