लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले पढ्न बेलायत पुगेको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदिक्षा तामाङको परिवारका लागि १० हजार ५४५ पाउन्ड ३६ पेन्स (नेपाली रुपैयाँ १७ लाख रुपैयाँ) सहयोग गरेको छ ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टि समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय सदीक्षाको ७ जुलाई शुक्रबार अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल भएको छ । आफ्नो आर्थिक अवस्था दयनीय रहेको बताउँदै सदिक्षाका बाबुले सघाउन अनुरोध भएलगत्तै एनआरएनए यूके अध्यक्ष गाहामगरले चन्दा आह्वान गर्नुभएको थियो ।
गत १० मेबाटै अभियान सुरु भएपछि स्वतस्फूर्त रुपमा १७८ जना व्यक्ति र १० वटा संस्थाले कुल १० हजार पाउन्ड, ५४५. ३६ (करिब १७ लाख रुपैयाँ) चन्दा प्रदान गरेका थिए ।
तामाङ सोसाइटी यूकेले १६०९ पाउन्ड, गोर्खा नेप्लिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, सगरमाथा गोर्खा/नेपाली कम्युनिटी आशफोर्ड, केन्टले ८०१.०० पाउन्ड, ब्रिटिस गोर्खा एन्ड ब्रिटिस गोर्खा नेप्लिज क्याट्रिक कम्युनिटी (सी एण्ड डी) ले ७३८. ९९, पाउन्ड, पश्चिम लन्डन जनसम्पर्क समिति बेलायतले ३५२ पाउन्ड, गोर्खा वारियर यूकेले ३१९ पाउन्ड, तनहुँ समाज यूकेले २५० पाउन्ड, क्षेत्री समाज यूकेले १०१, सिर्जनशील नेपाली समाज यूकेबाट २२० र किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका हुन् ।
पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले गत २१ मेमा आयोजित एनआरएनए यूके विशेष महाधिवेशनमा २६५ पाउन्ड संकलन गर्नुभएको थियो । एनआरएनए यूके अध्यक्ष गाहामगरले आर्थिक सहयोग गर्ने सबै चन्दादाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।