नुवाकोट । नुवाकोट पञ्चकन्या गाउँपालिका-३ का अर्जुन थापा (बगाले) ले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा उम्मेदवारी दिनुभएको छ ।
एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार उम्मेदवारी दर्ता गर्नुभएको हो । 'सामाजिक जिम्मेवारी निर्वाह गर्दै गर्दा धेरै नै महत्वपूर्ण कार्यहरु गरेको छु । अझ सशक्त भएर सामाजिक कार्य गर्न तीव्र इच्छासहित आएको छु,' उहाँले उम्मेदवारी दर्तापछि भन्नुभयो, 'एनआरएनए जापानको १२ वटै क्षेत्रसँग समन्वय गर्दै विधि, विधान र नीतिको आधारमा संस्थागत रुपमा एकरुपता दिने योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।'
विगत १० वर्षदेखि जापानमा बसोबास गर्दै आइरहनुभएका थापाले “विधि, विधान र नीतिमा सबलीकरण, पारदर्शी एनआरएनएमा प्रबलीकरण” चुनावी नारासमेत अघि सार्नुभएको छ । उहाँले सन् २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको संस्थापक अध्यक्ष, लायन्स क्लब नेपाल ३२५ जोन चियर पर्सन, हाम्रो नेपाल हामी नेपालीको अभियान सचिव, नेपाल फेस्टिवल फुकुओकाको सचिव, २०१९-२०२१ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति सचिव, नेपाल फेस्टिवल फुकुओका २०२२ संयोजक र २०२१-२०२३ एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति संयोजक बन्नुभएको थियो ।
विद्यार्थीकालदेखि नै अरुको हित र सेवामा समर्पित हुँदै आउनुभएका थापाले पुन: सामाजिक कार्य गर्ने अवसरका लागि जापानवासी नेपालीमाझ अपिल गर्नुभएको छ । 'पुन: यस पटक यहाँहरुको सहयोगको अपेक्षा गर्दछु । २०२३ -२०२५ कार्यकालको लागि मलाई सचिव पदमा अत्यधिक बहुमतका साथ विजय गराई यहाँहरुको सेवा गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु,' उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
सरल, सहयोगी, सक्षम र इमान्दार छवि बनाउनुभएका थापाले दौतरीहरुसँग मिलेर जन्मगाउँ नुवाकोट पञ्चकन्याको घलेगाउँमा गुणस्तरीय शिक्षाका लागि १४ वर्षअघि 'सार्वजनिक विद्यालय' स्थापना गर्नुभएको छ । उहाँलगायत स्थानीय क्लब पञ्चकन्या जनकल्याण युवा समाजमा आबद्ध गाउँका युवाहरुको पहलमा सञ्चालित जनकल्याण सामुदायिक पाठशाला झन्डै डेढ दशकदेखि निरन्तर चलिरहेको छ । उम्मेदवार थापा युवा समाज र पाठशालाका संस्थापक हुनुहुन्छ ।
२०७२ को महाभूकम्प होस् या प्राकृतिक र अन्य खालका समस्यामा परेका नेपालीहरुलाई संस्थागत र व्यक्तिगतरुपमा पनि आर्थिक, भौतिक, नैतिक तबरबाट निरन्तर सहयोग गर्दै आइरहनुभएको छ । नेपालमै स्नातकोत्तर तह पूरा गर्नुभएका थापा परिवारका काइँला सन्तान हुनुहुन्छ ।