काठमाडौं । अधिवक्ताको विवादास्पद अभिव्यक्ति र टेकु प्रहरी दमनको विरुद्धमा विश्वका तामाङ संघसंस्थाहरुले आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटीसी) सम्बद्ध विभिन्न देशका सदस्य संस्थाहरुले विवादित बनेकी अभियुक्त भवगती पाण्डेलाई उन्मुक्ति दिन खोजिएको र उनलाई कानुनी कारबाही गराउन माग गर्दै काठमाडौं प्रहरी परिसरमा धर्नाका क्रममा भएको दमनविरुद्ध चासो व्यक्त गरेका हुन् । पाण्डेको अभिव्यक्तिले नेपालमात्रै नभई विश्वका तामाङ र मगर समुदायमा चोट पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति जारी गर्नेमा अखिल भारतीय तामाङ बौद्ध संघ–भारत, नेपाल तामाङ समाज–जापान, तामाङ घेदुङ हङकङ, तामाङ समाज पोर्चुगल, तामाङ सोसाइटी अफ अमेरिका (संयुक्त–नेपाल आदिवासी जनजाती महासंघ अमेरिका), तामाङ को–अपरेशन सोसाइटी अफ क्यालिफोर्निया (आदिवासी जनजाति महासंघ क्यालिफोर्निया, अमेरिका), नेपाल तामाङ घेदुङ, बहराइन (संयुक्त –नेपाल आदिवासी जनजाती महासंघ बहराइन), तामाङ समाज यूएइ, नेपाल तामाङ घेदुङ दक्षिण कोरिया रहेका छन् ।
अधिवक्ता पाण्डेको अभिव्यक्ति कानुनविपरीत भन्दै नेपाल तामाङ घेदुङले दिएको जाहेरी आधारमा साउन ९ मा पक्राउ पुर्जी जारी गरिएको थियो । तर प्रहरीले पक्राउ गर्न आनाकानी गरेपछि साउन १७ गते नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा दबाबस्वरुप टेकु प्रहरी परिसरमा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको थियो । त्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग र धर्नामा संलग्न ५० जनालाई नियन्त्रणमा लिएको थियो ।
धरपडकका क्रममा लछारपछार र निर्घात कुटपिट त गरे नै हिरासतमा लगेर अमानवीय व्यवहार गरेको पीडितहरुले बताइरहेका छन् ।
पक्राउ पछि प्रहरीको कुटपिटबाट धेरै जना अभियान्त गम्भीर घाईते भएका थिए । न्यायमाग्न सुरक्षा निकायमा जादा उल्टै प्रहरी दमन सहनु परेको भन्दै विभिन्न देशका तामाङ संघसस्थाहरुले आपत्ति जनाएका छन् ।