नुवाकोट । नुवाकोट ककनी गाउँपालिका-४ पैत्तीस किलोका ५१ वर्षीय सानुकान्छा तामाङ उपचार खर्च अभावमा छटपटाइरहनुभएको छ ।
आर्थिक अवस्था कमजोरीले जेनतेन परिवार पाल्दै आउनुभएका तामाङको दुई वर्षअघि दुवै मिर्गौला फेल भएपछि थप समस्यामा पर्नुभएको हो । उहाँ अहिले राष्ट्रिय मिर्गौला केन्द्र बनस्थलीमा हप्तामा दुई पटक जसोतसो खर्च जुटाएर डायलासिस गर्दै आइरहनुभएको छ । मिर्गौला प्रत्यारोपणको तयारी भए पनि मोटो रकम लाग्ने भएपछि सानुकान्छाका परिवारलाई थप पिरोलेको छ ।
सानुकान्छाको मिर्गौला प्रत्यारोपण त छँदैछ, सामान्य उपचारमा समेत खर्च अपुग भएपछि परिवारले सहयोग उठाइदिन आफूसँग हारगुहार गरेको स्थानीय शेफर घिसिङ तामाङले जानकारी दिनुभयो । उहाँले एक हप्तादेखि आफ्नो फेसबुकमार्फत चिनेजानेकाहरुलाई सानुकान्छालाई सहयोग गरिदिन अपिल गर्नुभएको छ । केही दाताहरुले सहयोग दिन सुरु गरिए पनि अपेक्षाकृत नरहेको उहाँको भनाइ छ । दुई छोरा र एक छोरीको पिता सानुकान्छा बिरामी हुनुअघि सामान्य खेती किसानी र निर्माणसम्बन्धी ज्याला मजदुरी गर्नुहुन्थ्यो । अहिले जेठो छोरा उत्तर तामाङले मजदुर गरेर आफ्नो बुबाको उपचारमा भरथेग गरिरहेको सानुकान्छाले बताउनुभयो ।
विगत २ वर्षअघिदेखि उपचार गराउँदा १० लाख रुपैयाँ जति खर्च भइसकेको सानुकान्छाका परिवारले जनाएको छ । 'उपचारमा ऋणपान तथा भएभरको सम्पत्ति सकिसक्यो । मै बिरामी परेपछि कमाइ छैन । छोराहरुको पनि मजदुरी गरेर कमाइ खासै हुँदैन,' सानुकान्छाले बिलौना गर्नुभयो, ' कुनै उपाय नलागेपछि तपाईंहरुसँग आशा राखेको छु । मेरो ज्यान बचाइदिनुहोस् ।' उहाँले सबैको साथ र सहयोग पाएमा निको हुने आशा व्यक्त गर्नुभएको छ ।
सहयोग गर्न चाहनेले
बिरामी सानुकान्छा - ९८६३६३५०७८ र ९८६६४०९९६४ [शेफर घिसिङ तामाङ]
बैंक : कृषि विकास बैंक लिमिटेड
खाता नम्बर : ०२१३४०३०२६०८६०११
खातावालाको नाम : सानुकान्छा तामाङ
अभियन्तामार्फत पठाउन
ज्योति विकास बैंक लिमिटेड खाता नम्बर - ०९५११३००२४६९५४०००००१
शेफर घिसिङ तामाङ
यसैबीच ककनी गाउँपालिकाले पनि पीडित सानुकान्छा तामाङलाई सहयोग गरिदिन अनुरोध गरेको छ ।