काठमाडौं । तामाङ पत्रकार संघ संघीय कार्यसमितिले विविध कार्यक्रमसहित २९ औं तामाङ प्रसारण दिवस मनाएको छ । वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री तीर्थबहादुर लामाको प्रमुख आतिथ्यतामा संघले शुक्रबार काठमाडौंमा मिडिया अवार्ड वितरणलगायत कार्यक्रम गरी प्रसारण दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले लामो समयदेखि नेपालमा बसोबास गर्दै आएको तामाङ जातिको पहिचानलाई राज्यले अहिलेसम्म स्वीकार्न नसकेको बताउनुभयो । उहाँले आफ्नो आवाज र पहिचानको लागि निरन्तर लड्नुपर्ने भन्दै हेपिने र थिचिने पहिचानलाई नस्वीकार्ने हो भने तामाङले आवाज उठाउने बताउनुभयो ।
वाग्मती प्रदेशभित्र तामाङ र नेवारी भाषालाई सरकारी कामकाजीको भाषाको रूपमा प्रयोग गर्ने विषय मन्त्रिपरिषद्बाट पारित गरिसकेको भन्नुहुँदै मन्त्री लामाले सदन सञ्चालन भएपछि विधेयक टेबुल गराएर पारित गराइने बताउनुभयो ।
बिक्रम सम्वत २०५१ साल भदौ १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा “तामाङ ताम्ला सान्ग्युर” अर्थात् तामाङ भाषाको समाचार प्रसारण भएको दिनको सम्झनामा हरेक वर्ष भदौ १ गतेलाई तामाङ समुदायले प्रसारण दिवसको रुपमा मनाउँदै आइरहेको छ ।
दिवसको अवसरमा तामाङ पत्रकार संघ केन्द्रीय कार्य समितिले “तामाङ मिडिया अवार्ड २०८०” प्रदान गरेको गरेको छ । सो अवार्डबाट काठमाडौं उपत्यकाबाट इण्डिजिनियस टेलिभिजनका कार्यक्रम उत्पादक तथा प्रस्तोता मायालु तामाङ (ङेसुर) र मोफसलबाट धनकुटाबाट प्रकाशन हुने ब्लास्ट राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सन्तवीर तामाङलाई सम्मान गरेको छ ।
कार्यक्रममा तामाङ पत्रकार सङ्घले प्रकाशन गरेको “ह्याङला काई” विशेषको विमोचन गरेको छ भने चन्द्र कुमार मोक्तानले गाउनुभएको पुरानो तामाङ गीत “साङाला जिर्मा ग्वाईबारी म्हेन्दो” नयाँ रिमिक्स भर्सन गीतको भिडियो पनि सार्वजनिक गरेको छ ।
भाषा आयोगका सदस्य अमृत योन्जन, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, मानवशास्त्री डाक्टर मुक्त सिंह मोक्तान, संघका संस्थापक रविन्द्र तामाङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सन्चु ब्लोन, संघका संरक्षक रमिता लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, तामाङ डाजाङका अध्यक्ष तथा गायक फुल कुमार बम्जन लगायतले आदिवासी जनजाति समुदायको हकहितका लागि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
कार्यक्रममा स्वागत गर्नुहुँदै संघका उपाध्यक्ष नेत्र तामाङले संस्थाले गर्दै आएको गतिविधिको बारेमा पनि जानकारी गराउँनु भएको थियो । कार्यक्रम सञ्चालन संघका महासचिव तीर्थ बलले गर्नुभएको थियो । कार्यक्रममा तामाङ समुदायका राजनीतिक, सामाजिक र विभिन्न संघसंस्थाकाे व्यक्तित्वको सहभागिता रहेको थियो ।