काठमाडौं । ताम्सालिङ संयुक्त संघर्ष समितिको महिला विभाग गठन गरिएको छ ।
नेपाल तामाङ घेदुङको सभाहलमा मंगलबार आयोजित महिला भेलाले अभियन्ता आशा तामाङको संयोजकत्वमा ५१ सदस्यीय विभाग गठन गरेको हो । सहसंयोजकमा शान्ता तामाङ र सदस्य सचिवमा विपना तामाङ चयन हुनुभएको छ । समितिको आगामी कार्यक्रम, लक्ष्य, उद्देश्य तथा रणनीतिबारेमा सदस्यसचिव मोहन गोले तामाङले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङ, अभियन्ता आशा तामाङ, संगीता तामाङ, देशमाया योन्जन, शान्ता तामाङ, सरोजमोहन लामा लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । नवनिर्वाचित संयोजक आशा तामाङले तामाङ महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र ताम्सालिङ आन्दोलनमा महिला सहभागिता बढाउन योजना बनाउने बताउनुभयो ।
सचिवालय सदस्य मन्जु मिक्चनले संचालन गर्नुभएको कार्यक्रममा संघर्ष समिति सचिवालय सदस्य बाबुराम लोप्चन, घटक संगठनका देपराज लामा, बुद्धराज स्याङ्तान, युवा विभाग संयोजक ज्ञानबहादुर लामाको उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील महिला दिदीबहिनीहरूको उपस्थिति थियो । वाग्मती प्रदेश पहिचानका आधारमा पुन: नामांकन र स्वायत्त अधिकारसहित निर्माण गराउने उद्देश्यले ताम्सालिङ संघर्ष समिति घोषणा गरिएको हो ।
समितिको अहिले संगठन विस्तारको चरणमा रहेको छ । यसअघि नै युवा विभाग, संस्कृति/साहित्य विभाग, सञ्चार विभाग गठन भइसकेका छन् ।