काठमाडौं । नेपाल तामाङ घेदुङले 'तपस्वी' रामबहादुर बम्जनमाथि चाँडो सत्यतथ्य, निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउन नेपाल तामाङ घेदुङले माग गरेको छ ।
महासचिव जगमान लामा (दोङ) ले शनिबार विज्ञप्ति जारी गर्नु हुँदै बम्जनमाथि लगाइएका आरोपको बिनाआग्रह, पूर्वाग्रह चाँडो निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउन र पीडित, पीडक भनिएका पक्षलाई न्याय दिन प्रहरी प्रशासन, न्यायालय र सम्बन्धित पक्षलाई आग्रह गर्नु भएको हो । 'बम्जनले अंगिकार गरेको धर्म र मार्गप्रति हाम्रो संगठनको भिन्न धारणा रहेको पनि अवगत गराउन चाहन्छौं । तर जुनसुकै धर्म, संस्कृति मान्ने व्यक्ति, समुदाय तथा गुरु, अनुयायी जो भए पनि पीडितले न्याय पाउनुपर्छ भन्ने हाम्रो मत हो । तसर्थ, निज बम्जनमाथि लगाइएका आरोपको बिनाआग्रह, पूर्वाग्रह चाँडोभन्दा चाँडो सत्यतथ्य, निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउन र पीडित, पीडक भनिएका दुवै पक्षलाई न्याय दिन हामी प्रहरी प्रशासन, न्यायालय र सम्बन्धित पक्षलाई आग्रह गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।
बम्जनको सम्बन्धमा घेदुङले आफ्नो तर्फबाट आन्तरिक रूपमा संस्थागत ढंगले अध्ययन गरिरहेको र त्यसले वास्तविक तथ्य बाहिर आउनुका साथै पीडित भनिएको व्यक्ति, परिवार र अभियुक्तको रूपमा पक्राउ परेका तपस्वी बम्जन स्वयंलाई समेत न्यायको प्रक्रियामा सहयोग पुग्ने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।
बम्जनलाई २०८० पुस २४ गते साँझ काठमाडौंस्थित हात्तीगौंडाबाट सीआईबीले पक्राउ गरेको र पक्राउपछि घरमा रहेको नगद रकम तथा कम्प्युटर, गाडी लगायतका सामग्रीसमेत बरामद गरेको घटनाप्रति घेदुङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तै कुनै पनि घटनामा जोडिएको आरोपित व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्न पाउने कानुनी प्रक्रिया भए पनि कुख्यात अपराधीलाई समेत हत्कडी नलगाउने नेपाल प्रहरीको विगतको कार्यशैलीलाई हेर्दा भागी, उम्की जान नसक्ने एउटा धर्मसँग जोडिएको एक चर्चित गुरुलाई भने नियोजित रूपमा हत्कडी लगाउने कार्य अत्यन्तै पूर्वाग्रही र भेदभावपूर्ण देखिएको र निजको घरबाट भक्तजनले चढाएको रकम, सवारी साधन र प्रविधिका सामग्रीसमेत बरामद गर्ने जस्ता कार्य षड्यन्त्रपूर्ण र मानव अधिकारविरोधी क्रियाकलाप हो घेदुङले ठहर गरेको छ ।
मानव बेपत्ता तथा बलात्कारको मुद्दामा पक्राउ परेका तपस्वी बम्जन स्वयंलाई प्रहरीले सशरीर नियन्त्रणमा लिइसकेको सन्दर्भमा बरामद गरिएका नगद सम्पत्ति र गाडी, ल्यापटप जस्ता सामग्रीहरू कुनै प्रमाणको रूपमा पेस हुनसक्ने नदेखिने भन्दै मुद्दासँग विल्कुल असम्बन्धित यस्ता बरामद गरिएका नगद तथा जिन्सी सामग्री अविलम्ब फिर्ता गर्न पनि घेदुङले आग्रह गरेको छ । साथै, मानव धर्म तथा शान्तिको पक्षमा क्रियाशील योग, ध्यान सिद्ध प्रमाणित भइसकेका असाधारण व्यक्तिलाई लामो समयसम्म अनुसन्धानको दायरामा राखिराख्नु राम्रो कुरा नहुने घेदुङको तर्क छ ।