काठमाडौं । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले नाटक मासिन्याले प्रस्तुत गरेको कथा आफ्नो जीवनसँग मेल खाएको प्रतिक्रिया जनाउँनु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हेरेपछि उहाँले आफ्नो विगतलाई स्मरण गर्दै यस्तो प्रतिक्रिया दिनुभएको हो ।
'म २५ पटक हिरासतमा परेको मान्छे । मासिन्या तामाङ जातिमाथिको दमनको इतिहासको कथामा मेरो पनि कथा मिलजुल देखिन्छु, उहाँले स्मरण गर्नुभयो, म तराईको मान्छे आठ कक्षा पढ्दा मात्र पहाड यस्तो हुन्छ भनेर टाढाबाट दाइको बिहेमा जाँदा देखेको थिएँ । दाइको बिहे पहाड नजिकै भएको थियो ।'
हिँडेर जान खोज्दा सेनाले समाते भने यातना दिन्छन् भनेर साथीले डर देखाएको कुरा समेत सुनाउनुभयो । मासिन्याले जल, जमीन, जङ्गल,संस्कृति, इतिहास र परम्परा खोसिएका तामाङ, थारु, चेपाङ समुदायको कथालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताउँदै उनले यसलाई जनचेतनाकै रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
उहाँका अनुसार नाटकमा अभिनय, भावना, प्रकाश र संगीतको पनि उत्तिकै संयोजन रहेको छ । राजु स्याङ्तान, लक्ष्मी रुम्बा र राबतको लेखन रहेको नाटकको निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गर्नुभएको छ ।
माघ २८ गतेसम्म मञ्चन हुने नाटकमा रुपेश तामाङ, रोहनी लामा,शीतल थोकर, सुनिल तामाङ, विकास लामा, विष्णु मोक्तान,रमिला मोक्तान, सानुमाया तामाङ, प्रशान्त वाइबा लगायत कलाकारहरूको अभिनय रहेकोे छ ।