काठमाडौं । माघ ११ गतेबाट सुरु भएको ‘मासिन्या‘ लाई दर्शकले निकै रुचाएका छन् । नाटक सुरु भए देखि हाल सम्म हाउस फुल अर्थात नाटक रुचाउनेको भिड लागिरहेको छ । नाटक लेखक राजु स्याङ्तानका अनुसार माघ २१ सम्म झण्डै ३ हजार दर्शकले नाटक हेरिसकेका छन् ।
काठमाडौंको नयाँ बानेश्वर थापागाउँस्थित मण्डला नाटकघरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे र शनिबार १ बजे पनि मञ्चन हुँदै आइरहेको छ । टिकट एक हजार र पाँच सय राखिएको छ । ‘मासिन्या’ ले जङ्गबहादुरको समयदेखि अहिले सम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिदै गएको छ भन्ने विषयलाई उजागर गरिएको छ ।
तामाङ समुदायमाथि भएको अन्यायको पराकाष्ठाको जीवन्त इतिहास देखाएको दर्शकहरूको प्रतिक्रिया छ ।
नाटकले तामाङ समुदायको ऐतिहासिक विषयवस्तुलाई प्रस्तुत गरिएको र निकै राम्रो रहेको हेर्ने दर्शकहरूले प्रतिक्रिया जनाइरहेका छन् । लेखक स्याङ्तानका अनुसार १ सय ९५ सिट दैनिक नै भरिरहेको छ ।
नाटक घरमा पुग्ने तामाङ समुदायको संख्या पनि निकै कम भएको हुँदा यसबारे पनि पहिलो अनुभव लिनुका साथै दबिएर बसेको तामाङ समुदायको इतिहास बारे जान्नको लागि परिवारका सबै सदस्य लिएर आउँने गरेका छन् ।
गैर तामाङहरूले नाटक हेरे पछि यस्ता महत्वपूर्ण कथालाई मञ्चन गर्न ढिला गरिएको प्रतिक्रिया जनाएका छन् । ताम्सालिङ सुंयक्त संघर्ष समितिको १५ लाख आर्थिक सहयोग रहेको नाटक मासिन्यालाई लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतले लेख्नु भएको हो ।
नाटक परिकल्पना तथा निर्देशन बुद्धि तामाङ र सोनाम लामाले गरिरहनु भएको छ भने रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रूपेश तामाङ, इंगिहोपो कोइँच सुनुवार लगायत रहेका छन् ।