काठमाडौं । मञ्जुश्री सम्वत् २८६० को भित्तेपात्रो (डेङचि) विमोचन गरिएको छ ।
नेपाल तामाङ घेदुङको प्रकाशन र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा प्रकाशित भित्तेपात्रो बुधबार गोतामा क्याफे बौद्ध परिसरभित्र आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक एवं नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङ, भाषा आयोग सदस्य अमृत योञ्जन तामाङ, खेन्पो सोनाम ग्युर्मे, डा कुन्साङ योञ्जन, घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङलगायतले सार्वजनिक गर्नुभएको हो ।
क्यालेन्डरमा तामाङ समुदायको चाडपर्वलगायत विषय समेटिएको छ । मन्जुश्री पात्रो बारे उठेका जिज्ञासाकाे खेन्पो सोनाम ग्युर्मेले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै परिषद्का संस्थापक परशुराम तामाङले तामाङ अग्रजहरुको आन्दोलनले स्थानीय तहका विद्यालयहरुमा मातृभाषामा शिक्षाका लागि पाठक्रम निर्माण, प्रदेश सरकारको सरकारी कामकाजमा तामाङ भाषाको प्रयोगमा आउनु उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले अझै पनि अधिकार र काम गर्नुपर्ने बाँकी रहेको उल्लेख गर्नुहुँदै संघर्ष जारी राख्नुपर्नेमा जोड दिनुभयो ।
परिषद्का महासचिव टासी लामाको अध्यक्षतामा भएको मन्जुश्री पात्रो विमोचन तथा विज्ञ समितिको भेला छलफल कार्यक्रममा परिषद्ले ९ वटा विज्ञहरुको समिति बनाउने जनाएको छ । विज्ञ भेलाको लागि नाम सङ्कलनकाे काम सम्पन्न भएको महासचिव लामाले जानकारी दिनुभयो ।
अहिले परिषद् आन्तरिक तयारीमा लागेको भन्दै महासचिव लामाले ९ वटा मध्ये पाँच वटा विज्ञ समितिको भेला नेपाल र भारतमा गरिने छ ।
अन्य विज्ञ समितिको भेला विभिन्न देशमा हुने छ । तामाङ सो विकास विज्ञ भेला , तामाङ कोष निर्माण भेला अमेरिकामा, क्षमता अभिवृद्धि तथा तालिम भेला जापानमा र प्रवास समितिको भेला यूएईमा गरिने बताउनुभयो ।
परिषद् स्थायी समिति सदस्य तथा तामाङ घेदुङका महासचिव जगतमान लामा (दोङ)ले सञ्चालन गरेको पत्रकार सम्मेलनमा मुपुख्री (डुक) ल्हो अवसरमा शुभकामना आदानप्रदान र तामाङ परिषद्को विज्ञ सम्मेलन र आगामी कामहरुबारेमा छलफल भएको थियो ।