काठमाडौं । तामाङ समुदायले काठमाडौंमा सोनाम ल्होछार (नयाँ वर्ष) तीन दिनसम्म मनाउने भएका छन् ।
राष्ट्रिय सोनाम ल्होछार २८६० डुक (मुपुख्री) ल्होछार मूल समारोह समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी तामाङ सांस्कृतिक महोत्सवको रुपमा ल्होछार पर्व मनाउने जानकारी दिएको हो । सोनाम ल्होछार पर्वलाई नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ संस्थाहरुको सहभागितामा २०५१/५२ सालदेखि नै टुँडिखेलमा तीन दिवसीय विशेष तामाङ सांस्कृतिक महोत्सवका रुपमा मनाउँदै आएको छ ।
यस वर्ष मुख्य दिन (माघ २७ गते) दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले ल्होछार कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ । औपचारिक कार्यक्रमअघि खुलामञ्चबाट सांस्कृतिक र्याली, झाँकीसहित सहरका विभिन्न स्थान परिक्रमा गरिनेछ । महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्यहरू (दोहोरी, नृत्य, डम्फू सेलो, मानेदोरा तथा म्हेन्दोमाया) साथमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित अतिथि कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसैगरी तीन दिनसम्म तामाङ समुदायको विशेष खानाको परिकार, तामाङ भेषभूषा, तामाङ जातिसँग सम्बन्धित पुस्तक तथा अन्य जातीय पहिचान झल्किने परम्परागत वस्तुहरूलाई विभिन्न स्टलहरूमा बिक्री तथा प्रदर्शनी गरिनेछ ।
विगत ३५ वर्षदेखि भव्य र उल्लासमय वातावरणमा मनाउँदै आएको सोनाम ल्होछार पर्वलाई यस वर्ष अझ भव्य र सभ्य ढंगले सम्पन्न गर्ने लक्ष्य लिइएको ल्होछार मूल समारोह समिति संयोजक कुमार सिं घिसिङले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमलाई अझ व्यवस्थित पार्न आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मञ्च सजावट, स्वास्थ्य सेवा व्यवस्थापन, सांस्कृतिक र्याली व्यवस्थापन, खेलकुद तथा युवा परिचालन, सांस्कृतिक कार्यक्रम, वर्ष व्यक्तित्व सम्मान, ल्होछार इभ व्यवस्थापन, अतिथि सत्कार र तामाङ भाषा साहित्य प्रवर्द्धन उपसमितिलगायत विभिन्न समितिहरु गठन भएका छन् । यस वर्ष 'मञ्जुश्री सम्वत् २८६० सिङ/फो मुपुख्री सोनाम ल्होछार भव्य रुपमा सफल मनाऔ ! पहिचान सहितको ताम्सालिङ प्रदेश स्थापनाको लागि अघि बढौं !!' नारा तय गरिएको छ ।
के हो ल्होछार ?
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्दछ । 'ल्हो' को अर्थ 'साल', सम्वत्, वर्ष, उमेर र 'छार'को अर्थ 'नयाँ' अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । ल्हो बाह्रवटा हुन्छन् अर्थात् तामाङ भाषामा पनि भनिन्छ । विभिन्न बाह्रवटा पशुपंछीको नामबाट ल्होको नाम राखिएको हुन्छ ।
बाह्र ल्हो मध्ये प्रत्येक वर्ष एक/एक वटा ल्हो फेरिन्छ । यही ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्हो पोबा, ल्हो दोबा वा ल्होछार भनिन्छ । तामाङहरूले मान्ने ल्होछार (नयाँ वर्ष) चन्द्र पात्रोको पहिलो महिनाको पहिलो दिन अर्थात् प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि सुरु हुन्छ । यो परम्परा कहिले सुरु भएको भन्न नसकिए पनि यसलाई चिनियाँ सभ्यतासँगै आजभन्दा ४७०० वर्ष अगाडि विकास भएको कुरा चिनियाँ ज्योतिषशास्त्रको इतिहासबाट प्रमाणित हुन्छ । यो ल्होछार पर्व नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताईवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँवर्ष) मनाउने गर्छन् नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिसा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।
सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर-घरमा गरी घरलगायत सार्वजनिक स्थानहरूमा दर्ज्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र पूजा सांस्कृतिक कार्यक्रम गरेर मनाउँदछन् ।