काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई नेपाल तामाङ घेदुङले सम्मान गरेको छ ।
घेदुङको संघीय कार्यालय चुच्चेपाटीमा आइतबार आयोजित कार्यक्रममा मन्त्री तामाङलाई सम्मानपत्र, खादासहित सम्मान गरिएको हो । घेदुङका सल्लाहकारसमेत रहनुभएका मन्त्री तामाङलाई पूर्वराजदूत एवं घेदुङका सल्लाहकार डा गणेश योञ्जनले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तामाङले सांस्कृतिक, धार्मिक पर्यटनमा टेवा पुर्याउने नेपालका ऐतिहासिक सम्पदा वि सं २०७२ को भूकम्पले ध्वस्त पारेकोले ती सम्पदाको पुनर्निर्माणमा ध्यान दिने बताउनुभयो । आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रसहित बृहत् क्षेत्रको प्रवर्द्धन, उत्थानमा काम गर्नुपर्ने तर बजेट एकदमै न्यून भएको मन्त्री तामाङको भनाइ थियो । मन्त्री तामाङले धर्म, संस्कृतिको प्रवर्द्धनसँगै, पर्यटन प्रवर्द्धनका लागि दलगत विचार भन्दा माथि उठेर एकजुट हुन आग्रह गर्नुभयो ।
पूर्वराजदूत गणेश योञ्जनले नेपालीको धार्मिक, सांस्कृतिक, भाषिक विविधतालाई सम्बोधन हुने योजना, कार्यक्रमलाई प्राथमिकतामा राखेर धार्मिक/सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय तह र समुदायसँग सहकार्य गर्न सुझाव दिनुभयो ।
पूर्वपर्यटन राज्यमन्त्री परशुराम तामाङले विविधतापूर्ण नेपाली संस्कृति आफैंमा धनी रहेको बताउँदै संस्कृति मन्त्रालयले तिनै धार्मिक, सांस्कृतिक सम्पदाको प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले मन्त्री तामाङ घेदुङको सल्लाहकार समेत रहनुभएकोले घेदुङको सांस्कृतिक साझा घर बनाउने पहलका लागि सरकारको नीतिभित्र रहेर सहयोग गर्नुहुने अपेक्षा व्यक्त गर्नुभयो । मन्त्री तामाङलाई बधाई तथा शुभकामना दिनुहुँदै अध्यक्ष गोलेले मन्त्रालयको जिम्मेवारी अवसर र चुनौती दुवै भए पनि तारतम्य मिलाउन सकेमा सफल बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।
माओवादी केन्द्र, एमाले, रास्वपा, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धन बनेपछि फागुन २१ गते मन्त्रीमा नियुक्त हुनुभएको हो ।