काठमाडौं । सेलो संगीतलाई विश्वव्यापी बनाउने उद्देश्यले 'डम्फू सेलो' कार्यक्रम प्रसारणमा ल्याइएको छ ।
जिग्मे मिडिया प्रोडक्सन र इन्डिजिनियस टेलिभिजनको संयुक्त प्रस्तुतिमा 'डम्फू सेलो' टेलिभिजन कार्यक्रमको प्रसारण आरम्भ भएको हो । उक्त कार्यक्रम हरेक शुक्रबार राति ८ देखि ९ बजेसम्म इन्डिजिनियस टेलिभिजन, आईटीभी नेपाल र इन्डिजिनियस टेलिभिजनको युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको छ ।
१७ मे २०२४ (२०८१ जेठ ४) गतेदेखि आरम्भ भएको डम्फू सेलोको छैटौं भाग प्रसारण भइसकेको छ । पहिलो कार्यक्रम चर्चित गायक मिलन लामा र गीता योञ्जनले 'धानकै बाला झुलाउँला, मायालाई बोलाउँला' बोलको गीतमा सेलो दोहोरी खेल्नुभएको थियो । छैटौं भागमा भने मिना लामा र चिज गुरुङले 'बौद्ध पीपल बोट' बोलको भाकामा गीत गाउनु भएको छ । हालसम्म देश, विदेशका दर्शकले अत्यधिक रुचाएको निर्माण टिमले जनाएको छ ।
यस कार्यक्रमको कार्यकारी निर्माता तथा प्रस्तोता सञ्चारकर्मी जगत दोङ हुनुहुन्छ । सेलो भाकालाई विश्वव्यापी बनाउने उद्देश्यले लामो समयको गृहकार्यपछि डम्फू सेलो कार्यक्रम सुरु गरेको निर्माता दोङले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा तामाङ फापर ह्वाई (गीत), म्हेन्दोमाया र खान्दोके सेलो पनि समेट्ने गरिएको छ ।
सेलो संगीत तामाङ समुदायमा प्रचलित भनिए पनि पछिल्लो समय यो विश्वव्यापी भइसकेको छ । सेलो संगीतलाई लामो समयदेखि चलचित्र फाँटमा पनि प्रयोग गर्ने गरिएको निर्माता दोङले उल्लेख गर्नुभयो ।
कोभिड १९ को विश्वव्यापी प्रभावका बेलादेखि तयारी थालिएको डम्फू सेलोले बल्ल यस वर्ष सार्थकता पाएको निर्माता दोङको भनाइ छ ।