सागर तामाङ,ललितपुर। आहा म्युजिकल फेमिलीको आयोजनामा दशैँ– तिहार २०८३ को शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ललितपुरमा आयोजित उक्त कार्यक्रममा नेपाली गीत– सङ्गीत क्षेत्रका अग्रज स्रष्टा, कलाकार तथा नवप्रतिभाहरूको उपस्थिति रहेको थियो।
नेपाली गीत– सङ्गीत क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आहा म्युजिकल फेमिलीले प्रत्येक वर्ष आयोजना गर्दै आएको स्रष्टा सम्मान कार्यक्रम यस वर्ष तेस्रो संस्करणका रूपमा सम्पन्न भएको हो। यस वर्षको ‘तेस्रो स्रष्टा सम्मान– २०८३’ बाट वरिष्ठ सङ्गीतकार राजु सिंह सम्मानित हुनुभएको छ।
आहा म्युजिकल फेमिलीले हालसम्म तीन जना वरिष्ठ स्रष्टालाई सम्मान गरिसकेको छ।
कार्यक्रममा आहा म्युजिकल फेमिलीका क्याप्टेन रविन्द्र श्रेष्ठ तथा को क्याप्टेनद्वय शत्रु घन श्रेष्ठ र सुलिन गौरवको नेतृत्व रहेको थियो। वरिष्ठ गीतकार, सङ्गीतकार, गायक तथा प्राज्ञ प्रदीप लामा बोम्जन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
सम्मान ग्रहणपछि सङ्गीतकार राजु सिंहले नेपाली गीत– सङ्गीतका विविध पक्षबारे आफ्नो धारणा राख्दै स्रष्टा तथा कलाकारको योगदानको महत्त्वमाथि चर्चा गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि प्रदीप लामा बोम्जनले गीत– सङ्गीत क्षेत्रको विकास, नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा स्रष्टाहरूले पुर्याएको योगदानबारे विशेष चर्चा गर्नुभयो।