काठमाडौँ । बेइजिङं + ३० को विश्वव्यापी समीक्षा भइरहेको सन्दर्भ पार्दै महिलाको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाहरूको राष्ट्रिय महिला सञ्जाल संस्था बियोण्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले राष्ट्रिय महिला सम्मेलन आयोजना गर्ने भएको छ ।
सम्मेलन ललितपुरको जावलाखेलमा साउन ३२ गते शुक्रवार (भोली) सुरु हुने बिबिसी नेपालले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रमतय भएको बिबिसी नेपालका अध्यक्ष कृष्णकुमारी वाइवाले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन सत्र दिउँसो २ बजेको समय राखिएको छ भने महिलाका सवालमा विभिन्न विषयमा छलफल भने बिहान देखिनै सुरु हुने आयोजक संस्थाले जनाएको छ ।
सम्मेलनमा महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य , महिला विरुद्ध हिंसा, महिला र सशस्त्र सङ्घर्ष, महिला र अर्थतन्त्र, शक्ति र निर्णयमा महिला, महिला विकासको लागि संस्थागत संस्थागत संयन्त्रहरू, महिलाको मानव अधिकार, महिला र सञ्चार, महिला र वातावरण र बालिकाको विषयलाई चौथो विश्व महिला सम्मेलनले पारित गरेको विषय थियो । यस वर्ष भने थप दुई विषय जलवायु परिवर्तन र महिला जेष्ठनागरिकको विषयमा पनि समीक्षा गरिने बिबिसी नेपालले जनाएको छ ।
सातै प्रदेशमा प्रदेश स्तरीय बेइजिङं+३० को समीक्षा गरिसकेको कमिटीले ती सबै प्रतिवेदन सम्मेलनमा प्रस्तुत गर्ने र भोलि हुने राष्ट्रिय प्रमाणीकरण कार्यशालाबाट आएको निचोडलाई काठमाडौँ घोषणापत्र का रूपमा जारी गर्ने बिबिसी नेपालका अध्यक्ष वाइबाले बताउनुभयो ।
उक्त घोषणापत्रलाई नागरिक समाजको समानान्तर प्रतिवेदन तयार गरी संयुक्त राष्ट्र सङ्घमा नागरिक समाजको तर्फबाट पेस गर्ने संस्थाका महासचिव सीमा खानले बताउनुभयो । जसले लैङ्गिक समानता, बालिका र महिला सशक्तीकरणको सवाललाई थप जोडका साथ महिला र बालिकाको आवाजहरू स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्याउने अवसर प्रदान गर्नेछ ।
सम्मेलनमा आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, युवा, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदायहरू, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय, विभिन्न स्वास्थ्य, शिक्षा, वातावरण क्षेत्रका विज्ञ, विभिन्न क्षेत्रका पेसाकर्मी, महिला मानवअधिकारकर्मी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र र सरकारकारी प्रतिनिधिहरू गरी ३ देखि ४ सय महिलाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलन राष्ट्रिय प्रमाणीकरण कार्यशाला समानान्तर सत्र र राष्ट्रिय महिला सम्मेलन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा हुने आयोजकले जनाएको छ ।