काठमाडौं । ३० औं तामाङ प्रसारण दिवस तथा ‘तामाङ मिडिया अवार्ड वितरण समारोह २०८१’ काठमाडौंमा सम्पन्न भएको छ ।
वि.स २०५१ भदौ १ गते रेडियो नेपालमा तामाङ भाषाको कार्यक्रम तथा समाचार प्रचारण गरिएको थियो । सोही दिनलाई तासङ्घले प्रसारण दिवसको रुपमा मनाउँदै प्रत्येक वर्ष दुई जना पत्रकारलाई सम्मान गर्दै आइरहेको छ ।
सोही अवसरमा ‘तामाङ मिडिया अवार्ड २०८१’ दुईजना पत्रकारलाई वितरण गरिएको हो ।
मिडिया अवार्डबाट लामो समय देखि तामाङ समुदायको हकहितको लागि सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पत्रकार, कवि तथा लेखक राजु स्याङ्तान र नेपाल टेलिभिजनमा तामाङ भाषाको समाचार प्रस्तोता तथा कलाकार शान्ति वाईवा सम्मानित हुनुभएको हो ।
काठमाडौंको एयरपोर्ट होटलमा आयोजित समारोहमा कार्यक्रमका प्रमुख अतिथि, वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उहाँहरूलाई सम्मानपत्र र पाँच हजार रुपैयाँ पुरस्कारका साथमा सम्मान गर्नुभएको छ ।
तामाङ पत्रकार सङ्घका अध्यक्ष सुवास योञ्जनको अध्यक्षतामा भएको समारोहमा कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री लामाले तामाङ वाग्मतीमा तामाङ र नेवार भाषा कामकाजको भाषामा प्रयोगमा आउँनु पनि उपलब्धि भएको बताउनुहुँदै कार्यान्वयनलाई प्राथमिकता दिने बताउनुभयो ।
देशमा भएको हरेक सङ्घर्षमा तामाङ समुदायको ठूलो भएको भएको बताउनुहुँदै उहाँले विस्तारै उपलब्धीहरू प्राप्त गर्दै गइरहेको धारणा राख्नुभयो । साथै तामाङ पत्रकारहरूको पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाई थियो ।
आफ्नो समुदायलाई अगाडि लैजानको लागि सक्रिय रुपमा लाग्ने पनि प्रतिवद्धता जनाउनुभयो ।
यस्तै भाषा विद् अमृत योञ्जनले वाग्मती प्रदेशमा तामाङ र नेवार भाषा कामकाजी भाषाको रुपमा लागू गरिए पनि अहिले सम्म कार्यान्वयन हुन नसकेको बारे मुख्य मन्त्री लामाको ध्यानाकर्षण गराउनुभयो ।
समारोहमा पत्रकार सङ्घको तर्फबाट मुख्यमन्त्री लामालाई बधाई तथा सफल कार्यकालको कामना गर्दै मायाको चिनो पनि अध्यक्ष योञ्जनले प्रदान गर्नुभयो ।
यस्तै अवार्ड वितरण समारोहमा तामाङ पत्रकार सङ्घका संस्थापक अध्यक्ष रविन्द्र तामाङ , अन्तराष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, नेपाल तामाङ घेदुङका उपाध्यक्ष सन्चु ब्लोन, तामाङ कलाकार सङ्घका अध्यक्ष विशाल काल्तान, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका लक्की चौधरी, प्रेस युनियनका सचिव लालकुमार मोक्तान लगायत विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रसारण दिवस समारोहमा तामाङ पत्रकार सङ्घका सल्लाहकार, पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष, तामाङ समाजका अग्रज तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
देश तथा विदेशमा गरि २६ वटा शाखा तामाङ पत्रकार सङ्घको शाखाहरु रहेका छन् । भदौं १ गते जिल्ला जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ ।