काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)को विज्ञ भेला आगामी तीन वर्षको कार्ययोजना पारित र ६ वटा विषय समिति गठन गर्दै सकिएको छ ।
काठमाडौँको रामहिटीस्थित एक होटलमा यही शनिबार र आइतबार आयोजित भेलामा छलफल भएर विषयगत समितिले ल्याएका कार्ययोजनालाई प्लेनरीबाट पारित गरिएको परिषद् महासचिव टासी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार विषयगत कार्ययोजनामा तामाङ-तामाङबीच राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा नियमित सम्पर्क सम्बन्ध बढाउन सांस्कृतिक पुनः उत्थान सञ्जाल बनाई देशदेशबीच सांस्कृतिक आदानप्रदान कार्यक्रमहरू गरिनेछ । त्यस्तै ल्होछारलाई तिथि मिति तय गर्ने र भाषालाई पुस्तान्तरणका लागि श्रव्य-दृश्य बनाउने जस्ता कार्यहरू अघि सारिएको छ ।
यसैगरी ह्रुई तथा स्वाँगेभाइसम्बन्धी विस्तृत अध्ययन, छलफल तथा प्रचारप्रसार गरी निर्क्योलमा पुर्याउने लगायतका कार्ययोजनामाथि छलफल र पूर्णता दिने भएको महासचिव लामाले बताउनुभयो ।
भेलाले डा. सङ्ग्राम सिं लामाको संयोजकत्वमा सांस्कृतिक पुनः उत्थान समिति गठन गरेको छ । सदस्यसचिवमा उजिरसिंह तामाङ चुनिनुभएको छ ।
त्यस्तै तामाङ कला, संस्कृति, साहित्य तथा इतिहास लेखन समितिको संयोजक दिनेश लो तामाङ, सदस्यसचिव प्रदीप ब्लोन तामाङ छनोट हुनुभएको छ ।
यसैगरी तामाङ मानवअधिकार प्रवर्द्धन समितिको संयोजकमा सोमबहादुर घले (तामाङ), सचिव कुमार मोक्तान रहनुभएको छ ।
भाषा, लिपि तथा शिक्षा प्रवर्द्धन समितिको संयोजक अजितमान तामाङ, सचिव भीम तामाङ रहनुभएको परिषद्ले जनाएको छ ।
भेलाले अध्ययन, अनुसन्धान तथा क्षमता अभिवृद्धि समितिको संयोजकमा सुदिपा लामा (भारत), सदस्य सचिव उषा वाइबा चुनिनुभएको छ ।
अन्तर्राष्ट्रिय उच्चस्तरीय तामाङ पञ्चाङ्ग समितिको संयोजकमा खेन्पो सोनाम ग्युर्मे तामाङ रहनुभएको छ । सदस्यहरू टुंग्याउने क्रममा रहेको जनाइएको छ ।
भेलामा परिषद्का स्थायी सदस्य राष्ट्रहरू नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिनिधिहरू सहभागी भएका थिए । त्यस्तै विभिन्न देशमा क्रियाशील दुई दर्जन बढी राष्ट्रिय तथा सम्बन्धन सदस्य संस्थाहरूका प्रतिनिधिले विषयगत भेलामा अनलाइन (भर्चुअल) बाट सहभागिता भएका थिए । आइसिटीले आयोजना गरेको विषयगत विज्ञ भेलामा शनिबारबाट समूहगत छलफल सुरु भएको थियो । विज्ञ भेलाको अध्यक्षता परिषद्का महासचिव टासी लामाले गर्नुभएको थियो ।
नेपाल तामाङ घेदुङ सङ्घीय समितिले व्यवस्थापन गरेको भेला वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री लामाले विश्वभरका तामाङहरु भावनासहित एकता गर्नका लागि भेलाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । साथै तामाङ भाषाको लिपीको सन्दर्भमा जारी विवाद समाधान गर्नुपर्ने उहाँको जोड थियो ।
परिषद्का संस्थापक अध्यक्ष परशुराम तामाङले भन्नुभयो ‘लिपीको सन्दर्भमा हामीले एकमतका साथ निर्णय गरिसकेका छौँ, संस्थागत निर्णयका बारेमा हामी एकमत छौँ, यसमा कुनै विवाद छैन ।’‘विश्वका तामाङहरु एक हौँ, तामाङ सभ्यताको प्रवर्द्धन र विकास गरौँ’ भन्ने मूल नारासहित विज्ञ भेला भएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक अध्यक्ष परशुराम तामाङ, पूर्वअध्यक्षहरु, सल्लाहकार, कार्यसमिति पदाधिकारी, सदस्य, तामाङ घेदुङका पदाधिकारी, सदस्य, विभिन्न क्षेत्रका बुद्धिजीवी, सामाजिक अगुवा, लामागुरु, ताम्बा गुरुङ, बोन्बो गुरुहरुलगायतको उपस्थिति थियो ।