मोटरसाइकलको कर तिरेर ब्लु-बुक नवीकरण गर्नु थियो तर सधैंको व्यस्तताले समय जुरिराखेको थिएन । सार्वजनिक बिदाको दिन तिर्न नमिल्ने, अरु दिन आफ्नै अफिसको काम गर्नुपर्यो, कोही कसैलाई पठाउने मेसोसमेत मिलेन, अनलाइनबाट मिल्ने भए उहिल्यै घरैबाट तिरिसकिन्थ्यो । आज अफिसमा बिदा नै लिएर कर तिर्न गएँ, एक हप्ताले ढिला भएछ, अतिरिक्त ६०० रुपैयाँ जरिवानासमेत तिरेँ ।
अनि यसो सम्झेँ, दुई वर्षअघि हलुका गाडीसहितको लाइसेन्स नवीकरण गर्न दिएको थिएँ, स्मार्ट लाइसेन्स लिन एक वर्षपछि आउनु भनिएको थियो, अल्ली ढिला हुन्छ भन्ने हल्ला त पहिलेदेखि नै सुनिन्थ्यो तर अहिलेसम्म त पक्कै आयो होला ? हान्निएँ यातायातको अर्को कार्यालयतिर । बाइक पार्किङ बडा मुस्किलले गरियो २५ रुपैयाँ तिरेर, त्यो भन्दा नि बाइक पार्किङमा राख्ने र निकाल्ने मेरो मिहिनेतको ज्याला तिर्नै परेको भए झन्डै एक हजार रुप्पेको हुँदो हो ।
दुई वर्षअघि राजस्व तिरेको रसिद निकाल्न पर्समा छापा मारेको, झट्ट फेला परेन । सोधपुछ कक्षमा सोधेँ रसिद हराएछ, लाइसेन्स लिन अर्को के व्यवस्था छ ? उत्तर आयो- बग्गीखानामा गएर रसिदको अर्को प्रति ल्याउनुपर्छ । फेरि सोधेँ- पुरानो लाइसेन्सले हुन्छ कि ? `खै हुन्छ कि उता सोध्नुस् न १४ नम्बरमा ।´ तर यो समस्या टर्यो, पर्सको कुनाकानीको खानतलासीपछि फेला पर्यो - रातोरातो रसिद, निकै खुइलिसकेछ । बेलाबेला ट्राफिक प्रहरीले लाइसेन्स माग्दा, यही रसिद देखाएर लाइसेन्सको वैकल्पिक प्रमाण दिने गरिएको थियो ।
उत्तापट्टि गएर रसिद देखाउँदै भनेँ - मेरो लाइसेन्स लिनुपर्नेछ, दुई वर्षअघिको, पाउँन ! रसिदलाई खुब टल्काई ढल्काई हेरे तिनले । अनि भने `तपाईंको लाइसेन्स छापिएर आएको छैन, अल्ली पछि आउनुस् । फेरि सोधेँ - पछि भन्नाले ? उत्तर आयो `अब एक वर्षपछि ।´ म दङ्ग परेँ, उतिनैखेर हाँसो उठ्यो, भनेँ- दुई वर्ष त भइसक्यो ! अब एक वर्षपछि त तीन वर्ष हुन्छ, तपाईंले एक वर्षभन्दा खासमा डेढ वर्ष लाग्ला, त्यो भनेको साढे तीन वर्षपछि लाइसेन्स पाइने भो, यो त लाजैमर्दो भयो त गुरु!
लाजमर्दो भन्ने शब्दको प्रयोगले उनलाई च्वास्स पारेछ क्यारे ! भने `मलाई के भनेको त राज्यलाई भन्नु नि, मैले त आए बाँड्दिने हो, तपाईंको मात्रै नदिएको होइन क्यारे !´
`लौ ठीकै छ त्यसोभए´ भनेर बाटो लागेँ । म पनि कुरै नबुझ्ने मुर्ख नै हो नि, गर्भमै साढे तीन वर्ष नबसे लाइसेन्स कसरी स्मार्ट हुन्छ त ! तर यस्तो स्मार्ट लाइसेन्सको पनि आयु चानचुन डेढ वर्ष!
खासमा यति धेरै खर्च गरेर यो स्मार्ट लाइसेन्स नछपाए पनि भो । आखिर रसिद बोकेरै साढे तीन वर्ष चल्ने भो, डेढ वर्षको लागि चाहिँ किन स्मार्ट लाइसेन्स चाहियो, पाँच वर्षपछि त त्यो फेरि काम छैन, फेरि नवीकरण गर्नुपर्छ, फेरि अर्को साढे तीन वर्ष रसिदकै भर ! बरु यहीँ रसिदले चलाऔँ सधैंभरि ।
अरु हर क्षेत्रको लथालिङ्ग, अस्तव्यस्त र अन्योलताको कहालीलाग्दो अवस्थाभन्दा चाहिँ यो तुलनात्मक रुपमा त्यति उत्पात बिग्रिहालेको कुरो होइन, आखिर रसिदले काम गरेकै छ । र बाटोमा फर्कदैँ गर्दा झ्यास्स् सम्झिएँ । विदेश जान तम्सिएका र तम्सिनेवाला धेरैलाई सल्लाह दिँदै आएको छु । यहीँ देशमा पनि जिउन सकिन्छ, सुखै काट्न सकिन्छ, केही गर्ने ठाउँ टन्नै छ । विदेशमा चिल्ला बाटा, चिल्लो कार त पाइएला, यहाँजस्तो धुलाम्ये, हिलाम्मे हुनु पनि नपर्ला, अनौठा र रमाइला कुरा देख्न पाइएला, भोग गर्न पाइएला । तर आफ्नो परिवार त्यहाँ पाइन्न । यहाँ डुलेको भुगोल त्यहाँ पाइन्न । आफ्नो समाज पाइन्न । आफन्त र साथीभाइ पाइन्न । सबै छुट्नेछन् । देशभित्र केही गर्ने कुरा सोच्नुपर्छ । सम्भावना र बाटाहरु अनेक छन् । यही देश राम्रो छ । राम्रो बन्नेछ । अरुले पत्याएका छ वा छैनन् के पत्तो तर म अहिले पनि यहीँ गफ ठोक्दै आएको छु- शरम नमानीकन ।
(लेखक रिमाल पञ्चकन्या गाउँपालिका नुवाकोटमा
शिक्षा अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ ।)
फेसबुकबाट साभार