घलेभन्ज्याङ, नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिका-३, घलेगाउँकी छाला रोगपीडित सुनिता तामाङको उपचारका लागि सहयोग संकलन थालिएको छ ।
आर्थिक अभावले उपचार नपाइरहेकी सुनिताको उपचारका लागि स्थानीय रमेश तामाङ र गंगा तामाङको पहलमा आइतबारदेखि सहयोग अभियान सुरु गरिएको हो । पञ्चकन्या-३ मा सञ्चालित पञ्चकन्या माविमा कक्षा ७ मा अध्ययनरत सुनिता विगत ४/५ वर्षदेखि गम्भीर छाला रोग (खुट्टामा गहिरो घाउ र संक्रमण) भएर अहिले हिँड्डुल गर्नै नसक्ने अवस्थामा पुगेकी छिन् ।
सामान्य खेती किसानी र मजदुरी गर्दै आउनुभएका स्थानीय रामबहादुर तामाङ र सुनमाया तामाङका छोरी १३ वर्षीया सुनिताको उपचार अभावमा पढाइसमेत प्रभावित हुन लागेकोले आफूहरुको पहलमा देश-विदेशमा रहेका नेपालीबाट सहयोग उठाउन थालिएको सप्तकन्या आविका शिक्षकसमेत रहनुभएका छिमेकी कमन तामाङले जानकारी दिनुभयो । उहाँले बिरामी सुनिता काठमाडौं पुगिसकेको र केही रकम जम्मा हुनेबित्तिकै अस्पतालमा उपचार सुरु गर्ने तयारी रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, 'सुनिता तामाङलाई बाबुआमाले पहिले पनि एक/दुई पटक अस्पताल लानुभएको हो । तर घरको आर्थिक स्थितिका कारण उपचारलाई निरन्तरता दिन नसक्दा नानी अरुको सहयोगबिना शौचालयसमेत जान नसक्ने अवस्था पुगेकी छिन् । २/३ लाख रुपैयाँ भएमा निको हुने अवस्था देखिन्छ ।'
'तपाईंले जति सक्नुहुन्छ, त्यति सहयोग गरेर भविष्यको कर्णधार यो सानी नानीको उपचार सम्भव बनाइदिनुहुन हार्दिक अनुरोध छ । सानो-सानो सहयोगले पनि उनको जीवन जोगिन सक्छ,' सहयोग अभियानले आग्रह छ । सहयोग गरेपछि स्क्रिनसट वा जानकारी गंगा तामाङको (फोन/व्हाट्सएप: ९७०६२४९३६८) लाई पठाइदिन अनुरोध गर्दै पारदर्शिताको लागि सबै सहयोगको विवरण सार्वजनिक गरिने प्रतिबद्धता जनाइएको छ ।
मंगलबार साँझसम्म ५५ हजारभन्दा सहयोग जम्मा भएको समेत समितिले विवरण सार्वजनिक गरेको छ ।