घलेभन्ज्याङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले जेन-जीहरुको असली प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टीले जित्नुको विकल्प नरहेको बताउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय खरानीटारमा मंगलबार मनोनयन पत्र दर्तापछि सम्बोधन गर्नुहुँदै नेकपाका केन्द्रीय सदस्य, निवर्तमान सांसद तामाङले जेन-जीहरुको भागवनाअनुसार र माग पूरा पूरा गर्न पनि आफू र आफ्ना पार्टीका उम्मेदवारहरुले जित्नु पर्ने बताउनुभएको हो ।
'जेन-जीहरुको भावनाअनुसार र जेन-जीहरुको माग पूरा गर्न पनि र जेन-जीहरुको असली प्रतिनिधित्व गर्न नेपाली कम्युनिष्ट पार्टीले जित्न जरुरी छ । आजको सहभागिता र उपस्थितिले त्यही कुराको संकेत गरेको छ कि नेपाली जनताले फेरि एकपटक नेपाली कम्युनिष्ट पार्टीको खोजी गरेका छन्,' उहाँले भन्नुभयो, 'नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिलाई राज्यका सर्वोच्च निकाय प्रतिनिधिसभा पठाउन चाहेका छन् । त्यसमार्फत हिजो प्रचण्डले चलाए जसरी कुशासन, भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा र सामाजिक न्यायको पक्षमा, समृद्धि र विकासको पक्षमा हाम्रो अभियानलाई पुनरावृत्ति गर्नु जरुरी छ ।'
नेपाली कम्युनिष्ट पार्टीले नजितेमा फेरि मुलुक ध्वस्त गराउने र कुशासनलाई निरन्तरता दिने अवस्था आउन सक्नेतर्फ सचेत गराउनुभयो । 'यदि नेपाली कम्युनिष्ट पार्टीले जितेन भने तिनै यो मुलुकलाई ध्वस्त पार्न चाहने, जनताले प्राप्त गरेका राजनीतिक एवं सामाजिक उपलब्धिलाई नष्ट गर्ने । त्यत्तिमात्रै होइन भ्रष्टाचार, कुशासनलाई निरन्तरता दिने र नेपाली जनतामाथि फेरि अन्याय र अत्याचार थोपर्ने खालका स्थिति पैदा हुन सक्छ,' उहाँको भनाइ थियो ।

यस्तै बागमती प्रदेशसभा सदस्य तथा पूर्वउपसभामुख राधिका तामाङले नेपाली कम्युनिष्ट पार्टीले निष्कलित, इमान्दार, सुशासन चाहने र विकासप्रेमी उम्मेदवार हितबहादुर तामाङलाई अगाडि बढाएकोले जित सुनिश्चित भइसकेको दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थाबाट नेपाललाई अगाडि बढाउन र जेन-जीलगायत सहिदका सपना पूरा गराउनका निम्ति निर्वाचन हुन लागेको उल्लेख गर्नुहुँदै जेन-जीको माग पूरा गर्ने एक मात्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी नै रहेको दोहोर्याउनुभयो ।
नेकपा उम्मेदवार हितबहादुर तामाङ विजयी भएर जुलुस ननिकालेसम्म सभ्य कम्युनिस्ट कार्यकर्ताको रुपमा प्रस्तुत हुन नेता, कार्यकर्तालाई आग्रह गर्दै शालिनतालाई कमजोरी ठानेर कसैले आइलागेमा जाइलाग्न पनि जानेको चेतावनी दिनुभयो ।