काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो समय कार्यालयबाट भएका प्रगति तथा कार्यसम्पादन विवरण सार्वजनिक गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी यही मङ्सिर १ देखि ११ गतेसम्म कार्यालयबाट भएका कामहरूको प्रगति विवरण सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले कार्यालयले यही मङ्सिर ८ गते जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनस्र्थापना, जीवनयापन र सामाजिक संरक्षणका लागि तयार गरिएको एकीकृत प्याकेजको कार्यान्वयनलाई प्रभावकारी बनाउन समन्वय तथा सहजीकरण समितिले निर्णयहरूको प्रगति समीक्षा गरेको छ ।
उक्त बैठकले हालसम्म भएका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै बाँकी निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ । साथै नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका निकाय तथा कार्यालयहरूको आर्थिक वर्ष २०८२/८३ को व्यवस्थापन परीक्षण व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन पदाधिकारीहरूसँग अन्तरक्रिया गरी आवश्यक निर्देशन दिइएको छ । कार्यालयको समग्र व्यवस्थापकीय कार्यसम्पादन सुधार गर्ने उद्देश्यले मङ्सिर १० गते वरिष्ठ व्यवस्थापन समूहको बैठक बसेको थियो । बैठकमा प्रशासनिक तथा व्यवस्थापकीय विषय, कार्यप्रगति समीक्षा, विद्यमान समस्या तथा चुनौती र आगामी कार्यदिशाबारे छलफल गरिएको कार्यालयले जनाएको छ ।
साथै सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुँदै आएका वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपनाको अवस्था पहिचान गर्न पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ । राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि नीति प्रयोगशाला निर्देशक समितिका पदाधिकारीबाट राय तथा सुझाव लिई थप परिमार्जन भइरहेको छ । त्यस्तै, सरकारका विभिन्न निकायबाट सञ्चालन भएका व्यावसायिकता तथा उद्यमशीलता विकास लक्षित सीपमूलक तालिमको मूल्याङ्कन गरी गुणस्तर र प्रभावकारिता बढाउन तथा दोहोरोपन हटाउन सहसचिवको नेतृत्वमा अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ ।
नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउने उद्देश्यले विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीति तयार गर्न सम्बन्धित नीति, ऐन तथा नियमावलीको अध्ययन भइरहेको जनाइएको छ । सहसचिव अर्यालका अनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा यही मङ्सिर १० गते ‘राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षण’ सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण, नेपाल प्रहरीलगायत निकायका सूचना प्रविधिसम्बद्ध अधिकारी सहभागी थिए । कार्यक्रममा राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको महत्त्व तथा राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० सम्बन्धमा छलफल गरिएको थियो । त्यसैगरी, केही समयदेखि अवरुद्ध सिंहदरबार प्रवेशद्वारको गेटपास प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रसँगको समन्वयमा प्राविधिक अद्यावधिक र सुधार गरी पुनः सञ्चालनमा ल्याइएको छ । उक्त प्रणाली हाल नियमित रूपमा सञ्चालन भइरहेको जनाइएको छ ।