काठमाडौं,रासस । राष्ट्रियसभा सदस्यहरुले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदीबन्दी र लुटिएका हातहतियार फिर्ता नहुनुले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा आशङ्का व्यक्त गर्नुभएको छ । सभाको आजको बैठकको विशेष समयमा सांसद जयन्तीदेवी राईले भ्रष्टाचारको अन्त्य, सुशासन कायम र सेवा प्रवाहलाई सहज बनाउनेजस्ता विषय सम्बोधन नहुँदा जेनजी आन्दोलन भएको बताउनुभयो ।
“ती विषयहरू पुराना राजनीतिक दलहरूलेसमेत सदनमा उठाउँदै आएका थिए, जेनजी आन्दोलनकै आधारमा पुराना दलहरूको औँचित्यमाथि प्रश्न उठाउने वा उनीहरू अप्रासङ्गिक भइसकेका हुन् भन्ने गलत भाष्य निर्माण गर्न हुँदैन”, उहाँले भन्नुभयो । सांसद राईले फरार कैदी र प्रहरीबाट लुटिएका हतियार नियन्त्रणमा नआउनुजस्ता अवस्थाले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन हुनसक्ने विषयमा गम्भीर आशङ्का उत्पन्न भएको बताउनुभयो ।
सांसद रुक्मिणी कोइरालाले पनि जेनजी युवाको मागहरु जायज भए पनि आन्दोलनमा भएको घुसपैठका कारण विद्यालय पोसाकमा सरकारलाई खबरदारी गएका बालबालिका र सुरक्षाकर्मीको ज्यान जाने घटना भएको बताउनुभयो । सांसद कोइरालाले आगामी फागुन २१ मा भयरहित वाताववरणमा चुनाव हुदैन कि भनेर जनता आत्तिएको र शान्तिपूर्ण चुनाव हुनेमा आशङ्का देखिएको बताउनुभयो ।
“अझै पनि कैदीहरु फरार छन्, हातहतियार पनि लुटिएको अवस्थामा शान्तिपूर्ण निर्वाचन हुन्छ भन्नेमा विश्वस्त हुने ठाउँ देखिँदैन”, उहाँले भन्नुभयो । सांसद मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र सल्यानमा पुनःस्थापनामा देखिएका समस्या समाधानका लागि प्रतिवेदन पेस गरेपनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो ।
“अहिले पनि जनताहरु टहरामुनि बास बस्नुपर्ने, कष्टपूर्ण जीवनयापन गर्न बाध्य रहेका छन्, पुनःनिर्माण र पुनःस्थापनमा किन ढिलाइ भइरहेको छ ? यसमा बारम्बर छलफल गर्दा पनि चिन्ता, चासो र पदलकदमी छैन ?” उहाँले प्रश्न गर्नुभयो । सांसद् शर्माले महाकाली करिडोर, मध्यपहाडी लोकमार्गलगायत रणनीतिक विकासका आयोजनाका काम सम्पन्न गर्न सरकारले ढिलाइ गरिरहेको आरोप लगाउनुभयो । सांसद आनन्दप्रसाद ढुङ्गानाले जेनजी आन्दोलनमा उठेका माग जायज भए पनि आन्दोलनको नाममा देशलाई विघटनमा पु¥याउने काम भएको बताउनुभयो ।
मुलुकलाई अनिश्चयको भूमरीबाट अघि बढाउन निर्वाचनको विकल्प नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कतै न कतै निर्वाचन बिथोल्ने कोसिस भइरहेको छ । यसतर्फ सबै पक्ष सतर्क हुनुुपर्छ ।” सांसद गङ्गाकुमारी बेलबासेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनलाई राजनीतिक दलहरुले चुनावी घोषणापत्रमा उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । गरिबी अन्त्य, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य र शिक्षालगायत आधारभूत आवश्यकता सम्बोधन गर्ने विषय दलका घोषणापत्रमा समेटिनुपर्नेमा उहाँको जोड थियो ।
“धनी गरिबको खाडल कसरी सच्याउन सकिन्छ ? विद्यालय शिक्षा र बोर्डिङको शिक्षा कसरी सच्याउन सकिन्छ ? स्वास्थ्य सुरक्षा कसरी व्यवस्था गर्न सकिन्छ ? सर्वसधारण परिवारलाई कसरी गुणस्तरीय स्वास्थ्य दिन सकिन्छ ?”, बेलबासेले भन्नुभयो, “महँगी, कालोबजारी र सिण्डिकेटलाई कसरी तोड्न सकिन्छ ? आम जनतालाई कसरी रोजगारी दिन सकिन्छ भनेर दलहरुले घोषणापत्रमा राख्नुपर्छ । यो आजको आवश्यकता हो ।”