काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट नुवाकोट-१ का उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले आसन्न प्रतिनिधिसभा चुनावमा आफ्नो जित निश्चित भएको बताउनुभएको छ ।
शनिबार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निवर्तमान सांसद तामाङले अघिल्लो कार्यकालमा गरेका काम, भ्रष्टाचारमा नमुछिनु र जनाधार बलियो बन्नु नै आफ्नो जित पक्का भएको बताउनुभएको हो । 'जनाधार हामीले वृद्धि गरेका छौं । जित्ने कुरामा हामी निश्चित छौं । जितिन्छ भनेर अरुलाई अल्डरस्टिमेड गरेर, कम आँकेर हुँदैन । उहाँहरु आ-आफ्नो ठाउँमा बलिया नै हुनुहुन्छ । बलियाहरुलाई नै हामीले परास्त गर्न सक्छौं भन्ने लागिरहेको छ,' उहाँको भनाइ छ ।
उहाँले अगाडि भन्नुभयो, 'यसअघिको कार्यकालमा जनतालाई निराश हुने खालका काम गरेनौं । हामीले अनियमितता गरेनौं । भ्रष्टाचार गरेनौं । अनियमितता र भ्रष्टाचार छोप्ने हाम्रो पहल र प्रयत्न पनि भएन । जनताले जे चाहेका छन् त्यही गर्न हामीले हदैसम्म पहल गर्यौं । प्रयत्न गर्यौं । २०७४ साल अगाडि जिल्लाको अवस्था के थियो । त्यतिबेला जे भयो त्यसको अपनत्व त्यतिबेलाका प्रतिनिधिले लिने हो । त्यतिबेला राज्यका माथिल्लो निकायमा पुग्नेहरुले लिनुपर्छ, ०७४ पछि जे जति प्रगति भयो । त्यसको अपनत्व हामी लिन्छौं । हाम्रो निर्वाचन क्षेत्र । हाम्रो जिल्ला ०७४ भन्दा फरक छैन कसैले भन्छन् भने उनको दृष्टि दोष हो । त्यसपछिका परिवर्तन हामीले नै गरेको भन्ने बुझ्न चाहन्छन् र हामीलाई जस दिन चाहन्छन् भने जनताको मत पाउने आधार त्यो हो ।'
पूर्वमन्त्री तामाङ छहरे-टोखा सुरुङमार्गको योजना आफ्नो दलले अघि सारेको उल्लेख गर्नुभयो । 'छहरे-टोखा सुरुङको योजना हाम्रो योजना हो । तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा चीनसँग सहमति गरेर छहरे-टोखा सुरुङमार्ग बनाउने भनिएको हो । त्यहीअनुसार काम अगाडि बढ्नु पर्थ्यो तर बढेन । जुन वातावरणसम्बन्ध अध्ययन भइरहेको थियो, त्यतिबेला कोभिड आइदियो । त्यसपछि चिनियाँ टोली आफ्नै मुलुकमा फर्केर गयो । धेरै पछि फर्किएर आए । त्यसपछि हाम्रो पार्टीका तर्फबाट चिनियाँ भ्रमण वा नेपालमै मिलेको बेला कुरा उठाइनै रहेका छौं,' उहाँले भन्नुभयो, 'अहिले त डीपीआर पनि भएको छैन । जुन डीपीआर चिनियाँले नै बनाउने हो । जसले निर्माण गर्ने भनेको छ । प्राविधिक उसकै चाहिएला । बजेट हाल्ने काम चाइनाले गर्ने होला । हामीले त घचघच्याउने कुरा हो । पहल गर्ने हो सम्बन्धिक मुलुकको कुरा हो ।'
तामाङ यसअघि सोही निर्वाचन क्षेत्रबाट दुई पटक लगातार निर्वाचित भइसक्नुभएको छ । ह्याट्रिकको दाउमा रहनुभएका तामाङसँग कांग्रेसका प्रकाशशरण महत, एमालेका बद्री मैनालीलगायत प्रतिस्पर्धामा छन् ।
पाँचौं चोटीको निर्वाचनको मैदानमा रहनुभएका तामाङले सुशासन, विकास र मुलुकको समृद्धि आफ्नो दलको एजेन्डा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संवैधानिक रुपमा रहेका त्रुटि सच्याउने, शासकसीय स्वरुप परिवर्तन, निर्वाचन प्रणाली सच्याउने, संघीयतालाई सुदृढ पार्दै स्थानीय तह र प्रदेशलाई बलियो बनाउनेमा पार्टीको ध्यान केन्द्रित रहनेछ ।