सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले अधुरा कामहरु पूरा गर्न आफू पुनः उम्मेदवार बनेर आएको बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मरिण गाउँपालिकामा घरदैलो अभियानमा रहनुभएका उहाँले मतदाताले आफूलाई विजयी गराए ती कामहरुलाई पूर्णता दिने प्रतिबद्धता जनाउनुभयो ।
विकास निर्माण तथा कतिपय कानुन निर्माणको काम तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकार ढलेपछि रोकिएको उहाँको भनाइ थियो । त्यसलाई पुनः अगाडि बढाउन नेकपालाई मत दिएर सरकारमा पु¥याउन उहाँले मतदातासँग आग्रह गर्नुभयो ।

‘प्रचण्ड नेतृत्वको सरकार ढलेपछि एउटा पनि कानुन बन्न सकेन । विकासका योजनाहरुको बजेट रोकियो । त्यसकारण ती अधुरा कामहरु पूरा गर्न फेरि नेकपाको सरकार बन्नु आवश्यक छ । त्यसको लागि तपाईंहरुले नेकपाको चुनाव चिह्न तारामा मत दिएर नेकपालाई विजयी गराउनुप¥यो,’ दाहालले भन्नुभयो ।
उहाँले आफूले सिन्धुलीको विकासमा आफूले निरन्तर पहल गर्दै आएको उल्लेख गर्नुभयो ।
‘यहाँको बृहत्तर खानेपानी, सिँचाइका आयोजनाहरु हामीले सुरु गरेका छौं, पूरा भएका छैनन् । बरुण खोलाको पक्कीपुलको डिपिआर र एकैपटक बहुवर्षीय ठेक्का लगाउने, सुके–बरुण–केभनचुली हुँदै सर्लाहीको बजेट शीर्षक पास ग¥यौं,’ दाहालले भन्नुभयो, ‘बहुवर्षीय ठेक्का लगाउने बेला सरकार ढल्यो ।
योजना छुट्याइयो तर बजेट पास हुनेबित्तिकै प्रचण्ड सरकार ढल्यो र ओली सरकार बन्यो । केपी ओलीको सरकार बनेपछि बहुवर्षीय ठेक्का स्वीकृत भएन । त्यसपछि जति बजेट थियो त्यसबाट हामीले सडक निर्माण सुरु गरेका छौं ।’
उहाँले देशमा अहिलेको अवस्था सिर्जना हुनुमा कांग्रेस–एमाले मुख्य दोषी रहेको बताउनुभयो ।
कांग्रेस–एमाले सरकारमा हुँदाहुँदै अख्तियार दुरुपयोग गरेकोले जेन–जी विद्रोह निम्तिएको उहाँको भनाइ थियो । उक्त विद्रोहपछि संविधानलाई पुनः ट्र्याकमा अगाडि बढाउन नेपाली कम्युनिस्ट पार्टीले सुशील कार्की नेतृत्वको सरकार र सोही सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनलाई समर्थन गरेकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।
घरदैलो अभियानका क्रममा मतदाताहरु उत्साहित देखिनुभएको थियो । मतदाताहरुले नेकपाका उम्मेदवार दाहालले नै आफ्नो क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएकोले उहाँलाई जिताउन लागिपर्ने बताउनुभएको थियो । 
उहाँले आइतबार मरिण गाउँपालिकाको वडा नम्बर ३ को वरुण,मथौली,नक्कली भालुमारामा पुगेर अधुरा योजनाको अनुगमन गर्नुहुँदै मतदातासँग भेट गर्नुभएको थियो ।
त्यस्तै विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्न लाग्नुभएका १ दर्जन बढी नवप्रवेशीलाई स्वागत गर्नुभएको छ ।