नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ का ४५ वटै वडामा नेपाली कम्युनिष्ट पार्टीले सोमबारदेखि घरदैलो कार्यक्रम आरम्भ गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दलहरुलाई प्रचारप्रसारका लागि समय दिएपछि नेकपाले ७ पालिकामा रहेका ४५ वडामै कार्यक्रम सुरु गरेको हो । नेकपाका तर्फबाट उम्मेदवार रहेका हितबहादुर तामाङले दुप्चेश्वरबाट अभियानको शुभारम्भ गरेका हुन् ।
अन्य दलका उम्मेदवारले आयोगको निर्देशनविपरीत पहिलेदेखि नै प्रचार गरेको प्रसंग उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका हितबहादुर तामाङले आफ्नो पार्टी सधैँ विधिको शासन र निर्वाचन आचारसंहिताको पूर्ण पालनामा प्रतिबद्ध रहेको बताए । 'हामीले निर्वाचन आयोगले तोकेको समयसीमा र परिधिलाई पूर्णरूपमा सम्मान गरेका छौं । अन्य कतिपय दलका उम्मेदवारहरूले आचारसंहिताको धज्जी उडाउँदै समयअगावै भड्किलो प्रचारप्रसार र घरदैलो गरे पनि हामीले धैर्यता कायम राख्यौं । आजबाट विधिवत रूपमा हामी जनताको घरदैलोमा आएका छौँ ।' तामाङले कांग्रेस, एमालेलाई मत दिँदा भदौ २३ र २४ को घटना दोहोरिन सक्ने, भ्रष्टाचार गर्ने, नयाँ दललाई दिँदा विचार, सिद्धान्त र योजना नभएकोले कामै गर्न नसक्ने भएकाले आफूलाई मत दिएर बाँकी योजना पूरा गर्न र थप विकास गर्ने अवसर दिलाउन आग्रह गरेका छन् ।
नुवाकोटमा नेकपासँगै दलहरुले गतिविधिलाई तीव्रता दिएसँगै नुवाकोट १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । बिहानैदेखि पार्टीका नेता, कार्यकर्ता र समर्थकहरू झन्डा एवं चुनाव चिह्न अंकित प्रचार सामग्रीसहित मतदाताको घरआँगनमा पुग्न थालेपछि गाउँदेखि नगरसम्मको वातावरण तातेको छ ।
नेकपाले आफ्नो सांगठनिक शक्ति प्रदर्शन गर्दै क्षेत्र नम्बर १ अन्तर्गतका सबै स्थानीय तहका ४५ वटै वडाहरूमा कार्ययोजना बनाएर टोली परिचालन गरेको युवा नेता जीतेन्द्र सिंह ठकुरीले जानकारी दिए ।
यस्तै बागमती प्रदेशसभा सदस्य तथा नेकपा नेता राधिका तामाङका अनुसार घरदैलोको मुख्य उद्देश्य स्थानीय विकासका एजेन्डा, अधुरा योजनाको पूर्णता र जनताका प्रत्यक्ष समस्या सुन्नु रहेको छ । भड्किलो र खर्चिलो प्रचारभन्दा पनि मतदातासँग प्रत्यक्ष संवाद र आत्मीयता साटासाट गर्ने नीति पार्टीले लिएको उनले जानकारी दिएकी छन् । उनका अनुसार नेकपाले प्रत्येक वडामा कुनै पनि घर नछुट्ने गरी स्थानीय कमान्डर र युवा दस्ता खटाइएको छ ।
चुनावी एजेन्डा र मतदाताको उत्साह
घरदैलोका क्रममा मतदाताहरूले मुख्य गरी सडक पूर्वाधार, कृषिको आधुनिकीकरण र स्वास्थ्य सेवामा सुधारको माग राखेका छन् । उम्मेदवार तामाङले यसअघि सम्पन्न भएका सकारात्मक कामहरूको फेहरिस्त राख्दै बाँकी रहेका विकासका योजनाहरूलाई आगामी कार्यकालमा पूर्णता दिने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन आयोगले तोकेकै समयमा शालीन ढङ्गले प्रचार सुरु गरेकोमा सचेत मतदाताहरूले नेकपाको यस कदमलाई सकारात्मक रूपमा लिएका छन् ।
नेकपा दुप्चेश्वर निर्वाचन परिचालन समितिका संयोजक लालबहादुर तामाङका अनुसार सोमबार दुप्चेश्वरको बालकुमारी, काम्चोक, निगाले, जिम्नाङ्ग, सानोगल्फु, पुरगाउँ, नयाँ छेपार, लुकिली, बेतिनी र हुङ्गलगायतका क्षेत्रमा घरदैलो सम्पन्न गरिएको छ । दुप्चेश्वरका बाँकी गाउँहरूमा भोलि पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
यस्तै पञ्चकन्या, शिवपुरीलगायत क्षेत्रमा पनि जनप्रतिनिधिसहितको सहभागितामा घरदैलो कार्यक्रम गर्न थालेका छन् ।


-1771257757.jpeg)
-1771257757.jpeg)


-1771257751.jpeg)


-1771257747.jpeg)

-1771257744.jpeg)
