काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टीका सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल(राजन)ले आफ्नो कार्यकालमा सुरु भएका अधुरा विकास निर्माणको कामलाई पूर्णता दिने प्रतिबद्धता गरेका छन् । गत २०७९ मा आफु प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै जिल्लामा प्रशस्त विकास निर्माणका कामहरु गरिएको भन्दै उहालेबाँकी रहेका कामलाई पूर्णता दिनका लागि आगामी २१ फागुुनको चुनावमा निर्वाचित गराउन अपीलगर्नुभएको हो ।
साथै उहाले केही नयाँ आयोजनाहरुको पनि थालनी गर्ने प्रतिबद्धता गरेका छन् । जनताको सुख, दुुःखमा सधैँ उपस्थित भएर जनताको सारथीको परिचय बनाएका दाहालले नेपाली कम्युनिष्ट पार्टीको किल्लाको रुपमा रहेको सिन्धुली २ बाट सहज जित हासिल गर्ने विश्वास पार्टी पंक्तिले गरेको छ । चुनावी अभियानमा हिडिरहेका उहाले दैनिक सयौँको संख्यामा अन्य पार्टीबाट नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराइरहेका छन् ।
राष्ट्रिय प्राथमिकताको आयोजनाहरु सम्पन्न गर्नमा जोड
दाहालले सिन्धुलीमा अवस्थित राष्ट्रिय प्राथमिकताको आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि जोड दिने बताउनु भएको छ । सुनकोशी–मरिण ड्राइभर्सन, कोखाजोर जलासययुुक्त आयोजना, चियाबारी–खुर्कोट सुुरुङमार्ग र मरिणमा अवस्थित राँगाको मासु निर्यात गर्ने योजना समयमै सम्पन्न गर्ने पहल गर्ने प्रतिवद्धता जनाउँनु भएको हो ।
विकास निर्माणको कामलाई निरन्तरता दिइने
दाहालले पालिका सदरमुकामदेखि वडा सदरमुकाम सम्मको सडकहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता गरेका छन् । निर्माणाधिन सडकहरुको लागि आवश्यक वजेट विनियोजन गर्न पहल गर्ने, संघीयताको मर्म अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा ग्रामीण सडकहरु निर्माणको लागि पहल गर्ने, कमलामाई नगरपालिका लगायत अन्य पालिकाहरुको आवश्यक ठाउँमा चक्रपथ निर्माण गर्ने बताइएको छ । त्यस्तै, दुम्जा–लालबन्दी सडक निर्माण कार्य सम्पन्न गर्ने, आफ्नो क्षेत्रभित्रका विभिन्न ठाउँमा आवश्यकता अनुसार पक्की पुल निर्माण गर्ने तथा खोला, खहरे र नदी नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ ।
कमलामाईमा ट्रमा सेन्टर, मरिण र हरिहरपुरगढीलाई औद्योगिक जोन बनाउने योजना
उम्मेदवार दाहालले कमलामाई नगरपालिका वडा नं। ६ सिन्धुलीमा मिनि ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् । ट्रमा सेन्टर स्थापना गरेर विपन्न नागरिकहरुलाई सहुलियतपूर्ण उपचार गर्न पहल गर्ने उनको भनाई छ । उहाँले विगतमा प्रतिनिधि सभा सदस्य हुँदा सिन्धुलीमा ट्रमा सेन्टरको माग गर्दै संसदमा पटक–पटक बोलेका थिए भने सरकारी निकायलाई पनि घच्घच्याउनु भएको थियो ।
त्यस्तै, मरिण र हरिहरपुरगढी क्षेत्रमा लगानीकर्ता भित्रयाएर औद्योगिक जोन निर्माण गर्न पहल गर्ने पनि उहाँको योजना छ । त्यस्तै, एक घर एक धारा योजना अन्तरगत स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, सुनकोशी–मरिण ड्राईभर्सन मार्फत् कमलामाई नगरपालिकाको वडा नं। ४, ५, ६ र ७ मा खानेपानी समस्याको समाधान गर्ने, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरणको माध्यमवाट स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा पालिकामा उत्पादन हुने अन्न, तरकारी, जडिबुुटी लगायत बस्तुहरुको पहिचान र पकेट क्षेत्र निर्धारण गरि व्यवसायिकतामा जोड दिने पनि उनले योजना बनाउँनु भएको छ ।
शैक्षिक हब र पर्यटन हबको रुपमा सिन्धुलीलाई बिकास गर्ने अर्को योजना
सिन्धुुली जिल्लालाई शैक्षिक हब र पर्यटन हबको रुपमा विकास गर्ने दाहालको अर्को योजना रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक हव निर्माण गर्न पहल गर्ने, सिन्धुलीको पुरातात्विक, धार्मिक, साँस्कृतिक कला केन्द्रहरुको संरक्षण, सम्बर्धन गर्न पहल गर्ने र सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, माइस्थान मन्दिर लगायत संरचनाहरुको निर्माण तथा पुनः निर्माण गरि पर्यटन हबको रुपमा विकास गर्न पहल गर्ने उनको योजना सार्वजनिक भएको छ । त्यसैगरी, ग्रामिण विद्युतीकरणको व्यवस्था गर्न पहल गर्ने, आवश्यक ठाउँमा टेलिकमका टावर निर्माणमा पहल गर्ने, भुमिहिन सुकुम्वासी, अव्यवस्थित वसोवास गर्ने र किसान मजदुरको समस्या समाधान गर्न पहल गर्ने उहाँको योजना छ ।
कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता
दाहालले कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने र संसदमा प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संविधानको मर्म र भावना अनुसार ऐनहरुको निर्माण, विद्यमान ऐनहरुको प्रभावकारी कार्यान्वयन र समयानुकुल संशोधन गर्न पहल गर्ने भनाई छ । संविधानमा व्यवस्था भएको मौलिक हकहरुको व्यवहारिक कार्यान्वयका लागि आवश्यक कानुन निर्माणमा जोड दिने, संघीय शिक्षा ऐन, निजामति कर्मचारी ऐन लगायत अन्य आवश्यक ऐन, नियमावली निर्माण, कार्यान्वय र संविधानको मर्म अनुसार संशोधन गर्न पहल गर्ने दाहालले बताए ।