घलेभन्ज्याङ (नुवाकोट) । बागमती प्रदेशसभा सदस्य तथा नेपाली कम्युनिष्ट पार्टीकी नेता राधिका तामाङले फागुन २१ पछि नेकपाको सरकार बनाएर भ्रष्टाचारी र सहकारी ठगलाई फेरि जेल हाल्नुपर्ने बताउनुपर्ने बताउनुभएको छ ।
आसन्न प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसारका क्रममा बुधबार नुवाकोट तादी गाउँपालिका २ मा घरदैलो कार्यक्रममा सांसद तामाङले प्रचण्डको नेतृत्वमा सरकार बनाएर भ्रष्टाचारी र सहकारी ठगलाई फेरि जेल्नुपर्ने भएकाले नेकपाका उम्मेदवार हितबहादुर तामाङलाई प्रत्यक्षमा र नेकपालाई समानुपातिकतर्फ तारा चिह्नमा मत हाल्न आग्रह गर्नुभएको हो । 'प्रत्यक्षमा हितबहादुरलाई, समानुपातिकमा अरुलाई भन्ने पनि सुनेको छु । त्यसो नगर्नु होला, प्रत्यक्षमा हितबहादुरलाई मत दिन जति महत्वपूर्ण छ, त्यत्तिकै समानुपातिकमा महत्वपूर्ण छ किनभने राष्ट्रिय पार्टी बनाउनुछ । राष्ट्रिय पार्टी बनाएर प्रचण्डको नेतृत्वमा सरकार बनाएर भ्रष्टाचारीहरुलाई फेरि खोरमा थुन्नु छ । जनताको रगत र पसिना चुस्ने, सहकारी ठगहरुलाई फेरि लगि थुन्नु छ । यो विषयमा सबैले ध्यान दिनु आवश्यक छ ।'
कांग्रेस उम्मेदवार प्रकाशशरण महत काम नगर्ने, बजेट नहाल्ने र जस लिन आउने भएकाले उनीबाट सचेत रहनुपर्ने मतदाता र जनतालाई आग्रह गर्नुभयो । 'प्रकाशशरण महतले एक रुपैयाँ बजेट हालेको छैन । हितबहादुर र राधिकाले हालेको बजेटलाई यही गाउँका नेताहरु बोकेर 'मैले हालेको हो नि' भनेर आउन उहाँलाई लाज लाग्दैन,' उहाँले भन्नुभयो, 'त्यो मूर्ति पनि मैले बनाएको हो । त्यो सामुदायिक भवन पनि मैले बनाएको हो । चिलाउनेमा जाने बाटो पनि मैले बनाएको हो । सँगसँगै गंगटेदेखि माथि लब्दुसम्म जाने बाटो पनि मैले बनाएको हो भनेर झुटो प्रचार गर्न आउन सक्नुहोला । तर, तपाईंहरुले प्रश्न गर्नस्, तपाईंले बजेट हालेको प्रमाण ल्याउनुस् । हितबहादुर र राधिकाले बजेट हालेको प्रमाण हामीसँग छ । त्यत्रो पटक अर्थमन्त्री बनेर के हेरेर बसेको ? भनेर प्रश्न गर्ने तागत राख्नुस् ।'
वडाबासी एकजुट भएर तारामा मतदान गर्न आग्रह गर्नुहुँदै उहाँले निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीको मताधार राम्रो रहेको दाबी गर्नुभयो । 'एकाध ठाउँमा हामी तलमाथि हुन सक्छ । शिवपुरी पनि राम्रो छ, शिवपुरी पनि राम्रो छ । दुप्चेश्वर, ककनी पनि राम्रो छ । मलाई लाग्छ सूर्यगढी पनि राम्रो छ । यो तादी राम्रो छँदैछ । यहाँबाट धेरै मत दिएर पठाउनुपर्छ । ५७ घर धुरी फुटेर होइन, जुटेर नेतृत्व गर्नुस् । तपाईंहरुका समस्या समाधानका लागि राधिका तामाङ सधैं प्रतिबद्ध छु ।'