दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहसहितसँग सार्वजनिक बहस गर्ने बताएका नेकपा एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओली यो साता सार्वजनिक बहसमा सहभागी भए । बहसमा बालेन्द्र अनुपस्थित रहेपनि अन्य उम्मेदवारहरू उपस्थित थिए।
चुनावी अभियान सुरु भएपछि चर्को दबाबमा रहेका ओली सार्वजनिक बहसपछि थप रक्षात्मक बनेका छन्। सार्वजनिक बहसमा खासगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रन्जित तामाङले उठाएका सवालहरूको तथ्यपरक जवाफ दिन नसकेपछि ओली रक्षात्मक बनेका हुन् ।
भदौ २३ को जेन्जी आन्दोलनमा भएको क्षतिको नैतिक जवाफदेही केपी ओली हुनुपर्ने र ओलीले क्षेत्रमा गरेको विकास जनताको आवश्यकता र मागअनुसार नभएको विषय तामाङले जोडदार रुपले उठाएका थिए। कार्यकारी प्रमुख भएकोले सरकारमातहत भएका सबै कामको नैतिक जिम्मेवारी त्यो पदले लिनुपर्ने तामाङको स्पष्ट अडानमा कार्यक्रमका सहभागी मात्र नभएर क्षेत्रका मतदाता पनि सहमत छन्।
अर्कोतिर तामाङले ओलीले प्रयोगविहीन भ्यु टावर बनाएको तर भ्युटावरको नजिकै मोबाइलको टावर नहुँदा नागरिकले सहज ढंगले सञ्चार सेवा उपभोग गर्न नपाएको विषय उठाएका थिए। तामाङले विद्यालयका भवन बनेपनि विद्यार्थी नभएको र किसानहरूले मल बिउ सिंचाई नपाएको मात्र नभएर उत्पादन गरेको कृषि उपजले बजार मूल्य नपाएको विषय समेत उठाएका थिए। तामाङले ओलीलाई किसानले उत्पादन गरेको धानको मूल्य कति छ थाहा छ भनेर कार्यक्रममा सोधेका थिए। थाहा नभएको बताए ।

जेन्जी आन्दोलनको नैतिक जिम्मेवारीबारे ओलीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको बताए पनि आफ्नो कमजोरी स्वीकार गरेनन् । आन्दोलनको बेला नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री पदबाट राजीनामा दिई बाहिरिएका ओलीले आफू भागेको नभई थप मानवीय क्षति नहोस् भनेर ठाउँ सरेको जिकिर गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरिया, राप्रपाका उम्मेदवार लक्ष्मी संग्रौला सहितले आठौं पटक चुनाव लडिरहेका ओलीमाथि प्रश्न बर्साएका थिए। कार्यक्रमका सहभागीहरूले पनि उनीमाथि धेरै प्रश्न गरेका थिए। खासगरी तामाङले उठाएका सवालहरूमा सहभागीले हुटिङ नै गरेर समर्थन गरेका थिए।
कार्यक्रमको भिडियो सार्वजनिक भएपछि क्षेत्रका मतदाताहरू बीचमा ओली थप रक्षात्मक बनेको देखिएको छ। मतदाताहरूले कार्यक्रममा तर्कपूर्ण र तथ्यपरक विषय राखेका रन्जित तामाङ योग्य र उपयुक्त उम्मेदवार भएको विश्लेषण गर्न थालेका छन्। क्षेत्रबाट केपी ओलीलाई चुनाव जसरी पनि हराउने मनोविज्ञान बढ्दै जाँदा जुन उम्मेदवारको पक्षमा माहोल देखिन्छ त्यसलाई मतदान गर्ने मुडमा मतदाताहरु देखिएका छन् ।
'ओलीलाई यसपटक जसरी पनि हराउने हो' तर्कपूर्ण ढङ्गले उनको प्रतिवाद गर्न सक्ने क्षमता तामाङको रहेछ', गौरादह १ का एक मतदाताले भने, 'ओली हराउन बालेनलाई भोट हाल्ने सोचेका थियौँ, क्षमताको हिसाबले रन्जित अबल रहेछन् । अब उनलाई भोट हाल्छौं ।' क्षेत्रमा जसरी पनि ओलीलाई हराउने मनोविज्ञान एमाले र कांग्रेसका कार्यकर्ताहरू बीचमा पनि छ। जसले माहोल बनाउँछ त्यसलाई भोट हालेर ओली हराउने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। यसअघि ओलीको विकल्प बालेन मात्र हुन् भन्ने चर्चा क्षेत्रमा थियो। दमकको सार्वजनिक बहसपछि भने धेरैले तामाङलाई अब्बल उम्मेदवारको रुपमा लिन थालेका छन्।

झापा गौरादह घर भई हाल क्यानडामा बसोबास गर्ने भानुभक्त आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै तामाङले आफूलाई अबल साबित गरेको बताएका छन्। कुनै क्षेत्रमा ओलीलाई पराजित गर्नुपर्ने मत राख्दै आएका पत्रकारिता विषयका प्राध्यापक हुन् । सार्वजनिक बहसको प्रभाव तामाङ मतदाताको घर दैलोमा पुग्दा देखिन थालेको छ । 'सार्वजनिक बहसमा तपाईंको प्रस्तुति उत्कृष्ट लाग्यो, तपाईँलाई हामीले बल्ल चिन्यौं' झापाको कमल गौरादह नगरपालिका सितापुरीका युवा अशोक राईले शुक्रबार तामाङलाई भने, 'ओली हराउन बालेनलाई भोट हाल्ने मुडमा थियौँ ।
तर, बालेन हामीसँग भेट्दै नभेट्ने, हाम्रा सवालहरूको जवाफै नदिने र राजाको सवारी जस्तै हिँड्ने पात्र रहेछन्। अब तपाईँलाई सहयोग गर्छौं।' चुनावी अभियानको क्रममा क्षेत्रका करिब १० हजार घरमा पुगेको बताउँदै नेकपाको चुनाव प्रचार समितिका संयोजक सुरेन्द्र बस्नेतले रन्जित तामाङको पहिचान मतदाताको बीचमा स्थापित हुँदै गएको बताए ।
सुरुवातमा दुई उम्मेदवारको मात्र चर्चा रहेकोमा त्यो अवस्था पुरै फेरिएको दाबी गर्दै उनले आफूहरु चुनाव जित्ने अवस्थामा पुगिसकेको बताए । दुईखाले अतिवादलाई परास्त गरौं, क्षेत्रको स्थानीय समस्या बुझेको युवा उम्मेदवारलाई मतदान गरौं भन्ने नारा दिएर चुनावी अभियानमा रहेका तामाङले आफू पछिल्लो पटक मतदाताको प्रतिक्रियाबाट उत्साही रहेको बताए ।

उम्मेदवारले जनताले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने र सामूहिक मञ्चबाट पनि दिनुपर्ने मत राख्दै आएका उनले बालेन्द्र शाहले ओलीसँग एउटै मञ्च सेयर गर्न तयार नभए भोलि बाहेकका उम्मेदवार बीचको बहसमा आउन पनि आह्वान गरेका छन्।