सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाको चैनपुर, रतनपुर, गुर्जी बजारमा अनुगमन गरिएको छ । पालिकाको विभिन्न स्थानमा सञ्चालित व्यापार व्यवसायको छड्के अनुगमन गरिएको हो । स्थानीय बजार अनुगमन समितिका संयोजक तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेको नेतृत्वमा बजारको छड्के अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको पालिकाले जनाएको छ ।

अनुगमन टोलीले बजार अनुगमनका क्रममा म्याद गुज्रेका चामल, भुजा, कुशल चटपटे, गुडिया रानी कुरकुरे, पेट पूजा चाउचाउ, बिस्कुट, सोयाबिन लगायतका खाद्य पदार्थ बरामद गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले फेरि अनुगमनमा आउँदा म्याद नाघेका सामान भेटिए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिनुभयो। 
साथै विना दर्ता, मूल्यसूची र बोर्डसमेत नराखी सञ्चालन गरिएको पाइएको छ। उहाँले दर्ताबिना सञ्चालन गरिएको पसल यथाशीघ्र दर्ता गर्न, मूल्यसूची राख्न, बिल दिएरमात्रै कारोबार गर्न, होर्डिङ बोर्ड राख्न निर्देशन दिनुभयो । अनुगमनमा ३ नम्बर वडाका अध्यक्ष कुल बहादुर ब्लोन, प्रशासन तथा जिन्सी शाखा प्रमुख किरण राई, आर्थिक विकास शाखा प्रमुख प्रवेश देवकोटा, वन वातावरण तथा विपद् शाखा प्रमुख राजु कुमार उप्रेती लगायतको सहभागिता रहेको थियो ।
