सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाले १९ औं गणतन्त्र दिवसको अवसरमा शहीद, बेपत्ता, घाइते, अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेशसभाका सांसद सुस्पा भुजेलले शहीद परिवारका सदस्यहरूलाई सम्मान गर्नुभएको थियो । 
कार्यक्रममा पालिकाका शहीद, बेपत्ता, घाइते, अपाङ्गता भएका २० जनाको व्यक्ति तथा परिवारलाई नगद, प्रमाणपत्र सहित सम्मान गरिएको हो । प्रदेश सांसद भुजेलले गणतन्त्र जनताले रगत, पसिना र आँसुसँग साटेर ल्याएको व्यवस्था भएको उल्लेख गर्नुभयो ।
उहाँले शहीद परिवारको पीडाप्रति सहानुभूति व्यक्त गर्नुहुँदै शहीद हुनु भएकाहरुको नाम राष्ट्रको रातो किताबमा लेखिएको र उहाँहरूको योगदान सधैँ स्मरणीय रहने बताउनुभयो। हरिहरपुरगढी गाउँपालिकाले गरेको सम्मान राष्ट्रले नै गरेको सम्मान भएको उहाँले बताउनुभयो ।
अध्यक्ष वाइबाले देशको परिवर्तनका लागि पटक– पटक जनताले बलिदानी दिनुपरेको बताउनुभयो । जनताको ठूलो बलिदानबाट प्राप्त भएको गणतन्त्रलाई राजनीतिक नेतृत्वले सही रुपमा अगाडि बढाउन नसक्दा जेनजी विद्रोह निम्तिएको र फेरि ७६ जनाले बलिदान दिनुपरेको भन्दै उहाँले दुख व्यक्त गर्नुभयो । शहीद परिवारले आफ्नो रगतको सम्मान आफैँले गर्नुपर्ने देखिएको औंल्याउँदै उहाँले शहीद परिवारबीच एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष चेख बहादुर थिङले देशमा लोकतन्त्र, गणतन्त्र स्थापना गर्नका लागि आफ्नो जीवनलाई समाप्त पारेर यो देश परिवर्तनका लागि शहीद हुनुभएको योगदानको स्मरण गर्नुभयो । गणतन्त्र स्थापनाको मूल मर्म जनताद्वारा चुनिएको नेतृत्वबाट राज्य सञ्चालन गर्ने र ऊ जनताप्रति उत्तरदायी हुनुपर्ने भएको उहाँले उल्लेख गर्नुभयो । तर त्यसविपरीत भ्रष्टाचार र कुशासनमा लागेका कारण जेनजी विद्रोह निम्तिएको उहाँको भनाइ थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले जनमुखी शासनले नै गणतन्त्र दिवसको औचित्यलाई पुष्टि गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकार नै जनताको नजिकको सरकार भएकोले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । जनताको अपेक्षा अनुरुप जनमुखी र उत्तरदायी बनेर गाउँपालिकाको सेवालाई अगाडि बढाउने प्रतिबद्धतासमेत जनाउनु हुँदै युवाहरूलाई सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्नुभयो ।
कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष कमल कुमार राई , १ नम्बर वडाका अध्यक्ष जित बहादुर थिङ, ३ नम्बर वडाका अध्यक्ष कुल बहादुर भोलन, ५ नम्बर वडाका अध्यक्ष साईला लामा , ६ नम्बर वडाका अध्यक्ष यक बहादुर मोक्तान , ७ नम्बर वडाका अध्यक्ष बिच बहादुर मोक्तान , ८ नम्बर वडाका अध्यक्ष धन बहादुर मोक्तान लगायत गाउँपालिकाको विभिन्न शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।