काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूको निरन्तर अवरोध पछि भोलि सम्मका स्थगित गरिएको छ । विनियोजन विधेयक र त्यससँग आश्रित विभिन्न विधेयहरूमाथिको छलफल गर्ने नियमित कार्यसूची रहेको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलले उठेर निरन्तर विरोध जनाए पछि कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको हो ।
सभामुख डोलप्रसाद अर्यालले नेकपा ९एमाले०का सांसद क्षितिज थेबे, नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका सांसद निस्कल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओली र श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईलाई क्रमशः बोल्ने समय दिनुभयो ।
सोही क्रममा कांग्रेसका सांसद निस्कल राईले लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिददेखि जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा पाँच मिनेट मौनधारण गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “अमर सहिदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका सहिदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका सहिदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू पाँच मिनेट यहाँ उभिएर मौनधारण गर्नेछौँ”, उहाँको सो आग्रहलगत्तै नेपाली कांग्रेसका सबै सांसदहरू उभिनुभयो । त्यसलगत्तै प्रतिपक्षी दलका सबै सांसदहरूले समर्थन जनाउँदै मौनधारण गर्नुभयो ।
सभामुख डोलप्रसाद अर्यालले भने सो घटनालाई सभामाथिको अपमानका रूपमा टिप्पणी गर्नुभयो । प्रतिनिधिसभाको बैठक सभामुखले सञ्चालन गर्ने स्पष्ट पार्दै उहाँले आजको बैठकमा सदस्य स्वयंले समय तोकेर मौनधारणा गर्नु र गराउने अभ्यास गलत भएको धारणा राख्नुभयो ।