काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको उपचारका लागि ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहस्तरका स्वास्थ्य निकायबीच समन्वय भइरहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको चालु अधिवेशनका विभिन्न बैठक र समयमा सांसदहरूले राख्नुभएका स्वास्थ्यसम्बन्धी प्रश्नहरूको आजको बैठकमा एकमुष्ट जवाफ दिँदै मन्त्री मेहताले तीनै तहमा गरी हाल एक हजार २६९ ‘एन्टिस्नेक भेनम’ मौज्दात रहेको जनाउँदै यसबाट ८५० सर्पदंशका बिरामीको उपचार गर्न सकिने बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउन सरकार गम्भीर रहेको स्पष्ट गर्दै जनप्रतिनिधि र समाजका विभिन्न क्षेत्रको सहकार्य र समन्वयबाट जनचेतनालगायत सहजीकरणका लागि आह्वान गर्नुभयो । स्वास्थ्य सेवा विभागबाट १३ हजार २०० ‘भायल’ सर्पदंश उपचारका लागि खरिद प्रक्रिया अघि बढाइएको जनाउँदै मन्त्री मेहताले साउन मसान्तसम्म आपूर्ति हुने उल्लेख गर्नुभयो ।
“तत्काल खोपको अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गर्दै खोपको आपूर्ति, वितरण तथा दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउन जोड दिइएको छ । भेनम मौज्दात भएका सर्पदंश केन्द्रबाट आवश्यक स्थानमा उपलब्ध गराउन विभिन्न प्रदेश तथा सर्पदंश केन्द्रमा समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो, “सर्पदंशको उपचार सबै जिल्ला तह र सोभन्दा माथिका अस्पतालमा सञ्चालन भइरहेका छन् । यसका लागि आवश्यक पर्ने ‘एन्टी भेनम’ सबै उपचार केन्द्रहरूमा पर्याप्त छ । कुनै किसिमको अभाव छैन । दुर्गम स्थानमा रहेका नागरिकले तत्काल सेवा पाउने व्यवस्था मिलाइएको छ ।”
मन्त्री मेहताले सर्पदंशका बिरामी भेनम अभावका मात्र नभई तत्काल उपचार केन्द्रमा नगई घरमा परम्परागत तथा अवैज्ञानिक प्राथमिक उपचारका कारण पनि अवस्था थप जटिल बन्ने भन्दै सयतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । सर्पदंश भएको अवस्थामा झारफुक, विष चुस्ने, घाउ चिर्ने, कसिलो गरी बाँध्ने वा उपचारमा ढिलाइ गर्ने जस्ता अभ्यास नगरी बिरामीलाई यथाशीघ्र नजिकको सर्पदंश उपचार सेवा उपलब्ध भएको स्वास्थ्य संस्थामा लैजानु प्रभावकारी र सुरक्षित उपाय भएको बताउनुभयो ।
मन्त्री मेहताले सुनसरीसहित तराई-मधेसका जिल्लामा भएका घटनापश्चात् घाइतेहरूको उपचारलाई प्रभावकारी बनाउन मन्त्रालयले सम्बन्धित प्रदेश तथा अस्पतालहरूसँग समन्वय गरी आवश्यक उपचार व्यवस्थापन गरेको जानकारी दिनुभयो । गम्भीर अवस्थाका बिरामीलाई थप विशेषज्ञ उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याएर राष्ट्रिय ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।