काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुनुुहन्छ ।
समारोहमा पार्टीका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय (डिना), अम्बिका बस्नेतलगायत हुनुहुन्छ । पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा भएको भेलामा मुलुकभरबाट आएका सयौँ नेताकर्ताको उपस्थिति छ ।
पूर्वप्रधानमन्त्री देउवा पाँच महिनापछि बिहीबार स्वदेश फर्कनुभएको हो । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ । बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक, समसामयिक, प्रस्तावमाथि छलफल गरिने बताइएको छ ।
कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्ममा भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।
आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वाेच्च अदालत पुगेको थियो । सर्वाेच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनःसुनुवाइ गर्दै सर्वाेच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।