काठमाडौं । सरकारले ज्योति महतको उपचार र आत्मनिर्भरताका लागि आवश्यक सहयोग गरिने भएको छ । गम्भीर स्वास्थ्य समस्याका कारण उपचार तथा पुनर्स्थापनाको चुनौती सामना गरिरहेकी महतसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गर्नुभएको थियो । भेटमा महतको स्वास्थ्य अवस्था, उपचार तथा आगामी आवश्यकताबारे जानकारी लिनुभएको थियो ।
भेटका क्रममा ज्योतिले आफ्नो स्वास्थ्य अवस्था, उपचारका क्रममा भोग्नुपरेका समस्या तथा आगामी दिनमा आवश्यक सहयोगबारे मन्त्री बादीलाई जानकारी गराउनुभएको थियो। साथै, आफूले भोगेको यौन हिंसाका विषयमा समेत उहाँले मन्त्री बादीलाई जानकारी गराउनुभएको थियो।
ज्योतिको अवस्था र आवश्यकताबारे जानकारी लिएपछि मन्त्री बादीले उपचारका लागि आवश्यक सहयोग तथा स्वास्थ्य सेवामा सहजीकरण गर्न पहल गर्ने बताउनुभयो। साथै, यौन हिंसा सम्बन्धी विषयमा आवश्यक न्यायका लागि सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो।
मन्त्री बादीले दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरताका लागि रोजगारी तथा जीविकोपार्जनको अवसर उपलब्ध गराउन आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।
मन्त्री बादीले उपचार गराएर मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताउँदै पीडित नागरिकलाई न्याय, आत्मनिर्भरता र सम्मानजनक जीवनमा फर्काउन राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले ज्योतिको स्वास्थ्य, पुनर्स्थापना र न्यायका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ।