पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान अन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
एक सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो । यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित हुनुहुन्थ्यो ।
नियमित उडान तालिकाअनुसार फ्लाई दुबईको जहाज आजै साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबईका लागि उड्ने विमानस्थलका महाप्रबन्धक निरौलाले बताउनुभयो । यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तरराष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको उहाँले बताउनुभयो ।
पोखरादेखि दुबई भएर युरोप, अमेरिकालगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्राअवधि छोटिँदा खर्च पनि घट्ने महाप्रबन्धक निरौलाले बताउनुभयो । पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् ।
वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा–दुबई उडान सेवा लाभदायी हुने देखिएको छ । सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको यस विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन ।
सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान सुरु गरेको हो । दुबई–पोखरा–दुबई उडानका लागि गत जेठ २५ गते नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो ।