काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन् । देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ ।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस काठमाडौंमै रोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल पृथ्वी राजमार्ग र बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
काठमाडौंबाट हेटौँडा जाने फर्पिङको बाटो भने सञ्चालन भएकाले साना सवारीसाधन आवतजावत भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बिहीबार साँझदेखि गोङ्गबुस्थित नयाँबसपार्कमा सार्वजनिक यातायात रोकिएको जानकारी दिनुभयो ।
“देशका विभिन्न भागबाट काठमाडौं जोड्ने राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा अधिकांश सवारीसाधन नयाँबसपार्कमा रोकिएका छन्”, उहाँले भन्नुभयो । यस्तै, बिहीबार बिहानैदेखि मुलुकको सङ्घीय राजधानी काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यका भित्रका नदी क्रमशः बढ्न थालेका छन् ।
नदी बढेसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नदीका करिडोरमा सवारी नरोक्न तथा पार्किङ नगर्न भन्दै माइकिङ गरेको छ । यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि भारी वर्षा हुने र राजमार्गमा पहिरो जानसक्ने भन्दै आवश्यक ध्यान दिन सवारी चालकलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले वर्षाका कारण राजमार्ग अवरुद्ध हुनसक्ने भन्दै सुरक्षा निकायसँग समन्वय गरेर आवतजावत गर्न सम्पूर्ण व्यवसायी तथा चालकलाई आग्रह गर्नुभयो । असोज ८ देखि १२ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने भन्दै सचेत रहन आम जनतालाई विभिन्न निकायले अपिल गरिरहेका छन् ।