काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित पत्रकार सम्मेलनमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने जनाएको हो ।
प्रतियोगिताको औपचारिक उद्घाटन हुनुअगावै खेल सञ्चालन हुने भएको राखेपले जनाएको छ । खेल यही मङ्सिर ८ गतेदेखि सुरु हुनेछ । प्रतियोगिता उद्घाटनअघि विभिन्न १० खेल सञ्चालन हुनेछन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र एनआरएनए गरी ११ टोलीले सहभागिता रहने छ ।
दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट्स समावेश छन् । प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन् । जसमा सुर्खेतमा २३ खेल आयोजना हुनेछन् भने नेपालगञ्ज, बर्दिया र सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा समान एक खेल हुनेछन् । प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन् ।
त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन् । राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ । जसमा व्यक्तिगततर्फ स्वर्ण जित्नेले २० हजार, रजतले १५ हजार र कास्य विजेताले आठ हजार पाउनेछन् । त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले १५ हजार, रजतले १० हजार र कास्यले रु आठ हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि २५८ अन्तरराष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक रहनेछन् । त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि प्रतियोगितामा परिचालित हुने राखेपले जनाएको छ । प्रतियोगिताको समापन भने मङ्सिर २७ गते सोही स्थानमा हुनेछ ।