काठमाडौं । ग्लोबल मिडियाले शनिबारदेखि दिनभरिका मुख्य घटनाक्रम समेटेर 'प्याकेज समाचार' सुरु गरेको छ । यसमा राष्ट्रिय-अन्तर्राष्ट्रिय गतिविधि समिटिने छ । आज शनिबार भने संसद् खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता, नेकपा (माओवादी केन्द्र) का अध्यक्षलगायत नेताहरुमा कोरोना संक्रमण र कृषि अनुदान दुरुपयोगलगायत समाचार समेटेका छौं ।
(१)
प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री देउवाले ओलीसँग संघीय संसदमा जारी अवरोध हटाउन र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गर्न प्रस्ताव गर्नुभएको छ । बिहीबारमात्र बसेको पाँचदलीय समन्वय समितिले संघीय संसदको अवरोध हटाउन विपक्षी दलको नेतासँग सम्वाद गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो । शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष ओलीकै निवास भक्तपुरको बालकोट पुग्नु भएको थियो ।
(२)
प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नुभएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो । प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ ।
(३)
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा रहेका विभिन्न किसिमका सहकारीले समाजमा रहेका मानिसबीच समानताका साथै सामूहिक न्यायसमेत प्रदान गर्ने बताउनुभएको छ । वार्षिक साधारणसभाको उद्घाटन गर्दै शनिबार उहाँले सहकारीले उच्चदेखि मध्य हुँदै निम्न वर्गका मानिसलाई समेत एकैतवरले समेटेर लैजाने बताउनुभयो । सहकारीले छरिएर रहेको पुँजीको सानो अंशलाई एकत्रित गरेर उद्यमशील बनाउनाका साथै न्यून आय भएका व्यक्तिलाई सरल र सुलभ ढङ्गमा उनीहरुको आर्थिक जीवन तथा सामाजिक अवस्थालाई सुदृढ तुल्याउन सहयोग गर्ने समेत बताउनुभयो ।
(४)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट मूलधारको पार्टी भएको बताउनुभएको छ । समाजवादी अपाङ्ग सङ्गठनको कार्यसमिति घोषणा कार्यक्रममा उहाँले जनताको बहुदलीय जनवादको सिद्धान्त पार्टीले अवलम्बन गरेको जनाउँदै समाजमा न्याय, समानता र समावेशीको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले न्याय सबैका लागि बराबर हुनुपर्नेमा जोड दिँदै असमान व्यवहार कसैलाई पनि गर्न नपाइने र समाजका सबै तहमा समावशी प्रतिनिधित्व गराउन संविधानमा व्यवस्था गरिएको उल्लेख गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले अशक्त वर्गलाई जीविकोपार्जनका लागि राज्यले व्यवस्था गर्नुपर्ने र केही पनि गर्न नसक्नेलाई हेरचाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मेचीदेखि महाकालीसम्म आफ्नो पार्टी प्रकाशपुञ्जका रूपमा फैलिएको र जनताको सेवासुविधामा क्रियाशील रहेर समाज परिवर्तन गर्न सकिने पनि दावी गर्नुभयो ।
(५)
अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आगामी माघ पहिलो सातादेखि कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव डा रोशन पोखरेलले माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप दिन लागिएको बताउनुभयो । यस्तै माघको दोस्रो सातादेखि रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्राको खोप लगाइने उहाँको भनाइ छ। उहाँले सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई दृष्टिगत गर्दै कोरोना भाइरसको थप एक मात्रा दिइने बताउनुभयो । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन थालेको हो ।
(६)
देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९७ हजार ८९ पुगेको छ । पछिल्लो समय थप २९७ जना कोरोनाबाट निको भएका छन् ।
(७)
बन्दुकधारीहरुले नाइजेरियामा थप १४० भन्दा बढीको हत्या गरेको दाबी गरिएको छ । लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ । तर स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन् । लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरुले आम नागरिकमाथी हिंसात्मक आक्रमण गरेको बताए । आक्रमणकारी सयौँ लडाकूहरु मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरुले १० गाउँमा आक्रमण गरेका हुन् ।
(८)
संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ । कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिनुभएको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा समिति सदस्य हरिराम चौधरीले अनुदानका नाममा राज्यको ढुकुटीको ठूलो हिस्सा अपचलन भएकाले कृषि अनुदान कार्यक्रम स्थगित गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “वास्तविक किसानलाई अनुदानबारे थाहै छैन, किसानलाई अनुदान होइन, मलखाद, बीउबिजन र उपकरण खरिदमा छुट चाहिएको छ, यस वर्ष बाढीले धान डुबायो, गहुँका लागि मल छैन, यो अवस्थामा कृषकलाई राहत कार्यक्रम खोइ ।”
समिति सदस्य राधेश्याम अधिकारीले कृषि ऐन नभएका कारण व्यक्ति विशेषलाई लाभ हुने हिसाबले निर्देशिका बनाएर बडिँदै आएको अनुदान लक्षित समुदायमा नपुगेको हुँदा अनुदान वितरणलाई पुनर्विचार गर्न आवश्यक रहेको सुझाव दिनुभयो । सांसद शेरबहादुर कुँवरले पहुँचका आधारमा अनुदान बाँड्ने प्रवृत्तिले माटोसँग खेल्नेले होइन, कागज मिलाउनेले अनुदान प्राप्त गरिरहेकाले अहिले हालको अनुदान वितरण प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याउनुभयो ।
समिति सदस्य डा खिमलाल देवकोटाले कृषकले सीधै लाभ प्राप्त गर्ने विषय हरेक वर्ष मल खरिदमा घोटाला दोहोरिए पनि सहजरुपमा मल वितरण भएको कहिल्यै नसुनिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “भनसुन र लेनदेनका आधारमा कृषि अनुदान बाँडिने गरेको छ, अनुदान वितरण भद्रगोल छ, अनुदान कृषिकर्म गर्नेले नपाँउदा उत्पादन बढ्न र लागत घटन सकेको छैन, नेपालले वार्षिकरुपमा रु दुई खर्ब बराबरको आधारभूत कृषिजन्य खाद्य सामग्री आयात गर्न परिरहेको छ ।”