भक्तपुर । राष्ट्रिय युवा परिषदले सातौं स्थापना दिवस मनाएको छ । वि.सं. २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद, ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना दिवस मान्दै आएको छ।
विहिवार सानोठिमी स्थित परिषद परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विभिन्न मन्त्रालयमा छरिएका युवा लक्षित कार्यक्रमहरु एकीकृत गरी अघि बढाउन सके मात्र ठोस परिणाम निकाल्न सकिने बताउनु भयो ।
मन्त्री गहतराजले युवाको विकास भनेको राष्ट्रको विकास भएको बताउनु भयो । यहाँले भन्नुभयो (ु समृद्ध राष्ट्र निर्माणका लागि सक्षम, प्रतिस्पर्धी र उद्यमशील युवा तयार गर्नु जरुरी छ ।ु मन्त्री गहतराजले विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमा सदुपयोग गर्न सरकार र परिषदले ठोस कार्यक्रम ल्याउनुपर्ने धारण राख्नुभयो ।
कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले मुलुकको ४० प्रतिशत हिस्सा ओगट्ने युवाको सर्वाङ्गिण विकास नगरी राष्ट्रको विकास हुन नसक्ने बताउनु भयो। भर्खरै नियुक्त भएका बस्नेतले परिषद सब युवाहरूको साझा चौतरीबन्ने जिकिरगर्नुभयो।
परिषदका पूर्व कार्यकारी उपाध्यक्ष समेत रहेका एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले विगतमा परिषदको जग बसाल्न खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो। काङ्ग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले युवा परिषदले सबै विचार र क्षेत्रका युवालाई समेट्नु पर्ने बताउनु भयो।
कार्यक्रममा माओवादी केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले युवा परिषदले दुरदराज र तल्लो वर्गका युवाहरुको पक्षमा काम गर्नुपर्ने बताउनु भयो । एकीकृत समाजवादीकी केन्द्रीय सदस्य दिलु पन्तले वेरोजगारी अन्त्य गर्न युवा परिषदले विशेष अभियान चलाउनु पर्ने धाराणा राख्नु भयो ।
त्यस्तै, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य विक्की यादवले परिषदले राजनीतिक आग्रहबाट मुक्त भएर काम गर्नु पर्ने बताउनु भयो । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता मनिष मिश्रले युवा परिषद्ले सबै जाति, क्षेत्र र समुदाय समेट्नुपर्ने बताउनु भयो।
कार्यक्रममा युवा अभियन्ता एवम् युथ भिजन २०२५ निर्माण कार्यदलका सदस्य प्रदिप परियारले युवाको अवस्था, चुनौती र अवसर विषयमा कार्यपत्र पेश गर्नुभएको थियो । कार्यक्रममा परिषदका प्रकाशकीय प्रमुख रमाकान्त शर्मा र कार्यकारी सदस्य तिलोत्तम पौडेलले परिषदका गतिविधि बारे चर्चा गर्नुभएको थियो ।