पूर्वी लिम्बुवान याङरक ओयाम लिम्बू बाहुल्य रहेको गाउँमा जन्मेकी हुन् लिला सेलिङ माबो । साढे ४ दशकअघि उनी जन्मन्दा गाउँमा संचार, यातायात, विद्युत् सुविधा केही थिएन । गाउँकै सरकारी स्कुल गुप्तेश्वर माविबाट ‘कपुरी क’, सुरु गरेकी लिला आज बेलायतको प्रतिष्ठित युनिभरसिटी अफ सरेबाट स्नात्तोकर गर्न सफल भएकी छिन् । यही वर्ष युनिभरसिटी अफ सरेबाटै क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ रेस्पन्सिसिविलिटी) मा सफल्तापूर्वक एमएसी पूरा गरिन् ।
पाँचथरदेखि बेलायतसम्मको जीवन यात्रामा लिला सेलिङ माबोको संघर्ष र सफलताका कथा एक नभएर अनेक छन् । घरको चुलाचौका, शिक्षक, लाहुरेनी पीडा, लेखन, राजनीति, सामाजिक जागरणको व्यस्तता हुँदाँहुँदै उनलाई उच्च शिक्षा लिने हुटहुटीले कहिल्यै छोडेन ।
उनी एक सफल लेखिका पनि हुन् । लिला आफै लाहुरे श्रीमती भइन् र विगत दुई सय वर्ष गोर्खा भर्तीले लाहुरे उनी एक सफल लेखिका पनि हुन् । लिला आफै लाहुरे श्रीमती भइन् र विगत दुई सय वर्ष गोर्खा भर्तीले लाहुरे परिवार, समाज र नेपाली माटोले भोगेका तर लुकेर बसेका दर्दनाक पीडालाई ‘लाहुरेनी पीडा’ कवितामा खोतल्न सफल भइन् । लाहुरे कथाव्यथा धेरै लेखिए । तर लाहुरेनीको पीडा लेख्ने उनी पहिलो लाहुरेनीमा नाम दर्ता गरिन् । ‘लाहुरेनी पीडा’ को सफलतापछि उनी चाँडै ‘मेमोरिज अफ अ गोर्खा वाइफ डुरिङ लकडाउन’ अंग्रेजीमा अर्को कवितासंग्रह लिएर आउँदै छिन् ।
समाज जागरणमा पनि लिलाले उल्लेखनीय काम गर्दैछिन् । बेलायतमा अश्वेत र दक्षिण एसियाली अल्पसंख्यक (ब्ल्याक एसियन एण्ड एथ्निक) महिलाले भोगिरहेको घरेलु हिंसाको कारण समुदायमा गएर खोज अनुसन्धान गर्दै पीडितहरुका आवाजलाई अंग्रेजी र नेपालीमा निरन्तर लेखिरहेकी छिन् । लिम्बू समुदायको जिउँदो इतिहासमा आधारित सुब्बा सुभाङ्गी र नगरानिशान बारेमा उनको अर्को खोजमूलक लेख हो । हाल लिला लिम्बू, नेपाली र अंग्रेजी तीन भाषामा एकैचाटी कविता डायरी लेखनमा छिन् ।
जिम्मावाल सुब्बा भिमकुमार सेलिङका पहिलो सन्तान हुन् लिला सेलिङ । उनी सफल हुनुमा मातापिताको कुशल दिशानिर्देश र निरन्तर संघर्ष गर्ने स्वाभवले पनि हो । पिता भिमकुमार गाउँकै गुप्तेश्वर माविका पूर्व प्रध्यानधापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र लेखकसमेत हुन् भने आमा राममाया यवा स्थानीय महिला संगठनकी पूर्वअध्यक्ष हुन् ।
गुप्तेश्वर माविमा एसएलसी गर्ने गाउँकै पहिलो महिला र शिक्षक सेवा आयोग पास गर्ने पनि लिला पहिलो महिला हुन् । शिक्षाको महत्व राम्रै बुझेका सुब्बा परिवारले उनलाई उच्च शिक्षाको लागि इलाम पठाए । इलाम महेन्द्र रत्न क्याम्पसमा उनले स्नातकसम्म सकिन् । शिक्षक सेवा उत्तीर्णप्रश्चात् उनले आफ्नै पिताले स्थपना गरेको सिद्धेश्वरी प्रावि ओयाममा पहिलोचोटी चक र डस्टरबाट मास्टरी जीवन यात्रा सुरु गरिन् । उनीसँग ओयामकै धर्मभक्त माविमा प्रिन्सिपल भएर काम गरेको अनुभवसमेत छ । शिक्षक हुँदा पेशागत आन्दोलनमा समेत उनको योगदान छ । एक महिनामात्र सुत्केरी बिदालाई दुई महिना बनाउन सफलताको हिस्सा लिलाको पनि छ । शिक्षण पेसा, गृहणीसँगै अध्ययनलाई निरन्तरता दिने क्रममा उने पाँचथर बहुमुखी क्याम्पसबाट मानविकी संकायमा स्नातक पूरा गरिन् ।
छिमेकी गाउँ थर्पु दारिम्बा दोश्रो रोयल गोर्खाका श्रीप्रसाद माबोसँग बिवाह भएपछि लिलाले अनेक आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगिन् । श्रीमान् प्रदेशमा भएकी एक महिलाले परिवार, जागिर र समाज सबै एकैचोटी मिलाएर सफल बनाउनु उनले ठूलै संघर्ष गर्नु पर्यो । एकपटक श्रीमानसँग सैन्य ब्यारेकमा बस्दा उनले लाहुरे जीवनको अर्को पाटोलाई राम्ररी बुझ्ने थप अवसर मिल्यो ।
गोर्खा सेनालाई आवसीय भिसाको प्रावधान मिलेपछि लिला परिवारसँगै यतै बसोबास गर्न थालिन् । यहाँ बेलायतमा उनले बालबच्चाको पढाइ, जागिर, समाज सेवासँगै आफ्नो पढाईलाई समेत निरन्तरता दिइन् । उनले क्यून्स मेरी कलेज बेसिङस्टोकबाट ‘जिसिएचसी’, फान्ब्रो कलेजबाट बायोलजी साइकोलजी एण्ड हिष्ट्रिमा ‘ए–लेभल’ र वेम्ली लन्डनबाट ‘डेन्टल नर्ससिङ डिप्लोमा’, युनिभरसिट सुरेबाट क्रिमिनालोजी एण्ड साइकोलजीमा बिएसई अनर्स र यही वर्ष युनिभरसिटी अफ सरेबाटै क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ रेस्पन्सिसिविलिटी) मा सफल्तापूर्वक एमएस) पूरा गरिन् ।
संघर्षले लिला निरन्तर सफलताको फक्ताङलुङ उक्लिँदै गईन् । सन् २०१४ मा एकैपटक डेन्टल नर्सिङ नेशनल एण्ड डिप्लोमा र जिसिएसई इङलिस र यही वर्ष एमएससि (मास्टर डिग्री) र जिसिएसई म्याथ्स सफलतापूर्वक पूरा गरेको दिन जीवनका खुसी र सम्झनलायक मान्छिन् । फूलटाइम विद्यार्थी र रुचीका विषय नियमित पढ्न अवसर नमिलेकोमा लिलालाई केही दु:ख लागेको छनै । तर एउटी आमाको लागि छोराछोरी र घर व्यवहार पहिलो थियो । सुरुमा उचित परामर्शको अभाव र खासगरी भाषा समस्याले थप चुनौती थपियो ।
लिला बेलायतजस्तो परिपक्व राजनीति संस्कार भएको मुलुकको दोस्रो ठूलो राजनीतिक पार्टीको स्थानीय निर्वाचनको उम्मेदवारसमेत भइन् । उनको कामको कदर गर्दै पार्टीले सन् २०१८ को स्थानीय निर्वाचनमा हार्ट डिस्ट्रिक काउन्सिलको ब्लाकवाटर एण्ड हवलो क्षेत्रको उम्मेदवार बनायो । लिला नेपाली समुदायकी पहिलो महिला उम्मेदवार हुन् । सोही पार्टीको डिस्ट्रिक काउन्सिलर पदको लागि उनले २०१९ मा पुन टिकट पाइन् ।
लिलाको जीवन समाजसेवा पनि फुल टाइमजस्तै भएको छ । उनी किरात याक्थुङ चुम्लुङ महिला समिति थामेन्दिङमाकी संस्थापक अध्यक्ष एवम् यसै संस्था सरमोर शाखाकी संस्थापक अध्यक्ष पनि हुन् । केवाइसी यूकेको संरक्षक सदस्य लिला प्रारम्भमा यसै संस्थाको साहित्य, कल्चर हुँदै उपाध्यक्षमा रहेर सेवा गरेकी छिन् । नेपाल आदिवासी जनजाति महासंघ यूकेको उपाध्यक्ष सम्हालीसकेकी उनी हालै यही संस्थाको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छिन् । ग्रेटर रसमोर नेपाली कम्युनिटी महिला मञ्चको संयोज हुँदै हाल उनलाई मञ्चकै सचिवको जिम्मेवारी दिइएको छ ।
निष्ठापूर्वक सामाजिक कार्य गरेकोमा उनको कामको कदर गर्दै कियाचु यूके, कियाचु नेपाल, कियाचु दक्षिण कोरियालगायत बिभिन्न संघसंस्थाहरुबाट थुप्रै सम्मान तथा कदर पत्र प्राप्त गरेकी छिन् । घरकी पहिलो सन्तान लिला गाउँकै एसएलसी गर्ने पहिलो महिला, पहिलो प्रिन्सिपल, कियाचु यूके रसमोर शाखा पहिलो अध्यक्ष, कियाचु यूके महिला कमिटी थामेन्दिङमा पहिलो अध्यक्ष, बिश्व नेपाली साहित्य महासंघ यूके महिला एकल श्रृजना वाचन प्रथम पुरस्कार, रसमोर हेल्दी लिभिङ यूके बोर्ड ट्रष्टी एण्ड डाइरेक्टर रुपमा अंग्रेजसरह सामाजिक सेवा गर्ने पहिलो, नोर्थ इष्ट हाम्पशायर लेबर पार्टी यूके, ब्ल्याक एसियन एण्ड एथ्निक महिलाको पहिलो अधिकृतलगायत उनलाई जीवन अनेकौं क्षेत्रमा प्रथम हुने सौभाग्य मिलेको छ । ब्रुनाई नेपाली कविता प्रतियोगितामा प्रथम भएकी लिलाले अनलाईन साहित्यघर डटकममा तेस्रोलगायत साहित्यमा थुप्रै पुरस्कार जितेकी छिन् ।
लिलाको जीवनमा फुर्सद कहिल्यै साथी बनेन । शारीरिक र मानसिक व्यस्तता जति धेरै भए पनि उनको चुल्हा—चौका, बच्चाहरुको शिक्षा, परिवारलाई संधै एक नंबरमा राखिन् । जागिर दोस्रो र आफ्नो अध्ययनलाई तेस्रो प्राथमिकता दिएकी उनको लागि सामाजसेवा, लेखन आदि क्रियाकलापहरु शोखका विषय हुन् । घर–गृहस्थी सम्हाल्दै जागिरसँगै तीनजना बच्चाहरुलाई स्कुल लाने ल्याउने र आफ्नो अध्ययनको चटारोको थकित ज्यानले निरन्तर खटाई, जोस, जाँगरले सबै क्षेत्रबाट उनी सन्तुष्टि मिलेको सुखद् अनुभव हुन् । लकडाउनका कारण अनलाईनमा दुई छोरीको ग्राज्युयसन, आफ्नो पोष्ट ग्राज्युयसन र छोराको स्कुल क्लास लिँदा पूरै घर एउटा युनिभरसिटीजस्तो भएको उनको अर्को रमाइलो सम्झना बनेको छ ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज रुपान्तरमा लागेकी लिलाको जीवन अरु नेपाली महिलाको लागि प्रसंशनीय र अनुकरणीय बनेको छ ।
प्रस्तुति : कृष्णबहादुर हेम्ब्य