जापान । जापानमा '१० औं नेपाल फेस्टिवल फुकुओका-२०२२' अगस्ट ६ शनिबार हुने भएको छ ।
गैर आवासीय नेपाली संघ जापान क्षेत्रीय कार्यसमिति, फुकुओका नेपाल सोसाईटीलगायत क्युस्युमा अवस्थित संघ संस्थाहरुको आयोजनामा फुकुओका सहरको तेन्जिन चियो पार्कमा नेपाल फेस्टिवल हुन लागेको हो । नेपाल फेस्टिवल फुकुओका-२०२२ का संयोजक एवं एनआरएनए क्युस्यु संयोजक अर्जुन थापाले यस फेस्टिवल फुकुओकाको नेपालीहरुका लागि ऐतिहासिक महोत्सवको रुपमा स्थापित भएको उल्लेख गर्नुहुँदै कार्यक्रमलाई भव्य र सभ्य बानाउन सबैको साथ र सहयोगका लागि अपिल गर्नुभएको छ ।
संयोजक थापाका अनुसार नेपाल फेस्टिवल फुकुओकामा नेपालको विशेषताहरुलाई समेटेर नेपालीपन झल्कने खालका विशेष कार्यक्रम गरिनेछ । फेस्टिवलमा नेपाली मौलिक खाना, नेपालका विभिन्न जात जातिहरुको संस्कृति, भेगीय भेषभुषाको प्रस्तुति र राष्ट्रिय गौरवहरु गौतम बुद्ध, सगरमाथा आदिको प्रचार गर्दै नाचगानसहित मनोरन्जनमूलक कार्यक्रम हुने गरेका छन् ।
उहाँका अनुसार यस वर्ष जापानमा स्थापित कम्पनीहरुको २१ वटा स्टल बुकिंङ भएको छ । त्यस्तै, क्युस्यु क्षेत्रमा बसोबास गर्नुहुने सांगीतिक क्षेत्रमा लाग्नुभएका सर्जक, स्रष्टाहरुलाई २०२२ जुलाई १० सम्म सम्पर्कका लागि समेत अनुरोध गरिएको छ । परेड, प्रचारप्रसार, स्वयम्सेवक,आर्थिक संकलनलगायत विविध तयारीहरु व्यापकरुपमा भइरहेको संयोजक थापाले बताउनुभयो । विभिन्न जातीय एवं क्षेत्रीय संघ संथाहरुलाई पनि आफ्नोपन झल्कने तयारी गरी आयोजकलाई सम्पर्कका लागिसमेत संयोजक थापाले अनुरोध गर्नुभएको छ ।
जापानमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरु दाजु भाइ तथा दिदीबहिनी हरुलाई नेपाल फेस्टिबल फुकुओकामा चुले निम्तो गर्न चाहन्छु । यस बिशेष कार्यक्रमलाई सफल बनाउन तपाइँहरुको सहभागिताको साथ साथै सुझाब, सल्लाहको अपेक्षागर्दछु।
नेपाल फेस्टिबल फुकुओका पूर्णरुपमा नेपाल चिनाउने पर्व भएको हुँदा तपाई र तपाईका एक जना जापानिज या बिदेशी लिएर आउन अनुरोध पनि गर्दछु । यो बिशेष कार्यक्रम सफल पार्न सहयोगी दाताहरुको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले सम्पूर्ण जापानबासी व्यवसायी, समाजसेवीहरुलाई आफुले सकेको आर्थिक सहयोग लागि पनि अनुरोध गर्दछु ।
यस वर्षको नेपाल फेस्टिवल फुकुओकामा जापानस्थित नेपाली राजदूतावास टोकियो, फुकुओका वाणिज्य दूतावास, फुकुओका प्रिफेक्चर, फुकुओका सिटी अफिस, जापान सरकारको विदेश विभाग हेर्ने आधिकारिक निकाय फुकुओका इन्टरनेसनल एक्सचेन्ज फाउन्डेसन फुकुओका सिटी इन्टरनेसनल फाउन्डेशन, निशिनिप्पोन पत्रिका, आर के बिटिभी, एनपिओयूमेकइटलगायत विभिन्न जापानिज संघ संस्थाहरुले सहयोग गरिरहेको संयोजक थापाले बताउनुभयो ।
यो महोत्सव सन् २०११ बाट बंगालादेशसँग सहकार्य गर्दै प्रत्येक वर्ष निरन्तररुपमा २०१९ सम्म वैशाखी मेला हुँदै आज नेपाल फेस्टिवल फुकुओकाको रुपमा स्थापित भएको उहाँले बताउनुभयो ।
संयोजक थापाले एनआरएनए क्युस्यु, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबलगायत फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेफिन क्युस्यु , काठमाडौं फुकुओका लायन्स क्लब, जातीय संस्था, क्षेत्रीय संस्था र स्पोर्ट्स क्लबहरुले सक्रियरुपमा साथ दिइरहेको उल्लेख गर्नुहुँदै कुनै संस्था एवं व्यक्तिहरु छुट्नुभएको भए सहभागिता जनाउन अनुरोधसमेत गर्नुभएको छ ।