नुवाकोट । बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ (जगत लामा) ले एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा कांस्य पदक विजेता प्रवीण गुरुङलाई सम्मान गर्नुभएको छ ।
काठमाडौंको स्वयम्भूमा तामाङ कुदाप दिममा आयोजित कार्यक्रमबीच शुक्रबार मेयर लामाले खेलाडी गुरुङलाई खादा लगाउँदै सम्मान गर्नुभएको हो । उज्वेकिस्तानको फर्गानामा जुलाई १ र २ तारिखमा भएको च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै पुरुष तौल समूहतर्फ ७० देखि ७५ तौल समूहमा नुवाकोट बेलकोटगढी ४ कुमरीका प्रवीणले कांस्य पदक दिलाउनुभएको थियो ।
गुरुङ विगत १ दशकदेखि खेलकुदमा सक्रिय हुनुहुन्छ । साथै नेपाल मार्सल आर्ट्स हाप्किडो संघ केन्द्रीय प्रमुख सहायक प्रशिक्षक तथा नुवाकोट जिल्ला हाप्किडो संघका मुख्य प्रशिक्षक गुरुङले नुवाकोटका विभिन्न विद्यालयहरुमा नियमित हाप्किडो खेल सञ्चालन तथा प्रशिक्षण गराइरहनुभएको छ ।
हाप्किडो मार्सल आर्टअन्तर्गत पर्ने एक खेल हो । उक्त च्याम्पियनसीपमा नेपाललाई १ स्वणसहित २ कांस्य प्राप्त भएको थियो । दोस्रो विश्व युद्धको कारण क्षतविक्षत अवस्था रहेको र विभिन्न हत्या, हिंसा, चोरी डकैतीलगायत जघन्य महिला हिंसाको कारण आत्मरक्षाका लागि सुरु गरेको हाप्किडो अहिले विश्वभर खेलिने खेल बनेको छ । नेपालमा विसं २०६४ सालमा बझाङबाट खेल्न सुरु गरे पनि यसको आधिकारिक सुरुवात अर्थात् राष्ट्रिय खेलकुद परिषद्मा दर्ता गरेर भने विसं २०७३ बाट सुरु गरेको हो ।
नेलाललगायत भारत, चीन, जापान, माल्दिस, अफगानिस्तान, उज्वेकिस्तान, पाकिस्तान, उत्तर कोरिया, दक्षिण कोरियासहित २६ राष्ट्र सहभागी भएको खेलमा नेपालले १ स्वर्ण र २ कांस्य पदक जितेको थियो ।