काठमाडौं । नेपाल तामाङ घेदुङले संघीय कार्यालय भवन (ग्रेन गे दिम) खरिदको लागि आर्थिक संकलन अभियान घोषणा गरेको छ ।
काठमाडौंको रोयल दरबार प्यालेस महाराजगञ्जमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी सामूहिकरुपमा व्यानर वाचन गरेर अभियान घोषणा गरिएको हो । घोषणाकै दिन कार्यक्रममा उपस्थित सहयोगदाताहरु र प्रवासस्थित विभिन्न तामाङ संस्थामा आबद्ध व्यक्तिहरुले भवन खरिदको लागि आफ्नो तर्फबाट स्वघोषणा गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाल तामाङ घेदुङका पूर्वअध्यक्ष तथा सल्लाहकार परशुराम तामाङले भवन निर्माणको क्रममा दिन सक्ने र दिन नसक्ने तामाङ समुदाय छुट्याउने काम गर्नुभन्दा पनि सबैको सहयोग लिन आवश्यक रहेको र सबैलाई बराबर सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले व्यक्तिगतरुपमा भवन निर्माणका सहयोग घोषणा गर्नुहुँदै अभियानमा निरन्तर साथ रहने वचनबद्धता गर्नुभयो ।
घेदुङ सल्लाहकार तथा सांसद हितबहादुर तामाङले तामाङहरुको सर्वोच्च संस्था घेदुङलाई अब सबैले सहयोग गर्ने बेला आएको बताउनुभयो ।
वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले ठूला ठूला रकम सहयोग घोषणा गरे पनि नदिने संस्कार रहेको उल्लेख गर्नुहुँदै आफूले दिन सक्ने रकममात्रै बोल्न र सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नुभयो ।
यस्तै घेदुङका सल्लाहकार तथा पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले भवन निर्माण अभियानमा पूरा सहयोग हुने प्रतिबद्धता जनाउनुभयो ।
पूर्वराज्यमन्त्री रेशम लामाले आफू पनि तामाङ समुदायको राजनीतिकर्मी तथा पूर्वमन्त्री भए पनि घेदुङका हरेक कार्यक्रममा छुट्याइएको भन्दै गुनासो गर्नुभयो ।
पूर्वराज्यमन्त्री पर्शुराम तामाङ, समाजशास्त्री डा मुक्तासिंह लामा, पूर्वमन्त्री दावा गोले, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामालगायतका व्यक्तिहरुले भवन निर्माणको अभियानमा पूरा सहयोग गर्ने बताउनुभएको थियो ।
नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोले तामाङले यस वर्षलाई घेदुङको भवन खरिद गर्ने आन्दोलन वर्षको रुपमा लिनुपर्ने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो, 'सामाजिक संस्थामा आम सहमति जुटाउन कठिन हुने भएको हुँदा हामीले यसरी लामो समय भवन खरिद गर्न सकेनौं । अब महाधिवेशनको म्यान्डेट, सङ्घीय कार्यसमिति र सचिवालयको निर्णय भई सबै प्रक्रिया पूरा गरिसकेको हुँदा अन्यथा नलिन उहाँले आग्रह गर्नुभयो ।
अध्यक्ष गोलेले आगामी चैत १ गतेभित्रमा अभियान पूरा गर्ने लक्ष्य रहेको बताउनुहुँदै हामी सबैको ऐक्यबद्धता, साथ र समर्थनबाट मात्र भवन खरिदको प्रक्रिया पूरा हुने हुँदा सबैलाई एकपटक मुठ्ठी खोल्न अपील गर्नुभयो ।
पोखरामा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनदेखि नै घेदुङले कार्यालय भवन बनाउने योजना अघि सारे पनि त्यो पूरा हुन सकेको थिएन । त्यसपछि प्रत्येक पटकको महाधिवेशन र भेलाहरुमा घेदुङको भवन बनाउने कुरा मुख्य एजेण्डा बन्दै आएको थियो । सातौं राष्ट्रिय महाधिवेशनपछि यो मुद्दा अझ प्राथमिकताका साथ उठेको र आज बल्ल आएर त्यसले मूर्तरुप लिन लागेको सहअध्यक्ष कुमार सिंह घिसिङले बताउनुभयो ।
घेदुङको २०७८ चैत १ गते सम्पन्न नवौ सङ्घीय महाधिवेशनको म्यान्डेटबमोजिम काठमाडौंको बौद्ध, चुच्चेपाटी (लाहुरेटोल) स्थित सात आना जग्गामा बनेको ४ तले भवन खरिद गर्ने निर्णय भएको थियो । हाल उक्त भवन र जग्गा घेदुङकै चार जना पदाधिकारीको नाममा आइसकेको हुँदा सो भवनमा परेको रकम चुक्ता गर्नका लागि घेदुङले आर्थिक संकलन अभियान घोषणा गरेको हो ।
घेदुङले यो अभियान पूरा गर्नका लागि सहअध्यक्ष कुमार सिंह घिसिङको संयोजकत्वमा सङ्घीय परिचालन समिति, प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश परिचालन समिति र स्थानीय समिति अध्यक्षको नेतृत्वमा स्थानीय समिति समेत तीन तहको आर्थिक संकलन परिचालन समिति गठन गरेको छ । यसैगरी समितिलाई बेलाबेलामा आवश्यक दिशानिर्देश तथा सुझाव दिनका लागि पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, राजनीतिज्ञहरु, स्थानीय तहको तामाङ प्रमुख, उपप्रमुखहरु र अन्तर्राष्ट्रिय तामाङ परिषद्का पदाधिकारी समेतलाई समेटेर एक सल्लाहकार समिति निर्माण गरेको छ ।
भवन तथा जग्गा खरिदका लागि कम्तीमा रु. १,००० देखिमाथि आर्थिक संकलन गर्ने र स्वदेश तथा प्रवासका सबै तामाङ समुदायलाई यो अभियानमा जोड्ने घेदुङले लक्ष्य लिएको छ ।
औपचारिक कार्यक्रपछि गायिका इन्दिरा गोले, छेवाङ लामालगायत कलाकारको सांगीतिक प्रस्तुति रहेको थियो ।