नुवाकोट । नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, प्रदेश स्वास्थराज्यमन्त्री कल्पना नेपाली, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, तादी गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका जिल्ला उपसभापति सन्तमान तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति ध्रुव श्रेष्ठलगायत पुग्नुभएको छ ।
आइतबार शिवपुरी, तादी र दुप्चेश्वर गाउँपालिकाका क्षतिग्रस्त अवस्था अवलोकन टोलीमा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, निवर्तमान अध्यक्ष योविन्दसिं तामाङ, निवर्तमान उपाध्यक्ष अन्जु आचार्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जिल्लास्थित कार्यालय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । त्यसक्रममा विपद् व्यावस्थापन समिति नुवाकोटको सोमबार बैठक बसाली तत्काल आवाश्यक सहयोग उपलब्ध गराउने मन्त्री भँडेललगायतले प्रतिबद्ध व्यक्त गर्नुभएको थियो ।
यसअघि नेकपा माओवादी केन्द्रका संघीय सांसद हितबहादुर तामाङ, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ, कांग्रेस नेता जगदीशश्वर नरसिंह केसी लगायतले पनि बाढीपहिरो ग्रस्त क्षेत्र स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो । असार २४ गते राति भीषण वर्षापछिको बाढी र पहिरोले काठमाडौंबाट त्रिशूली जाने टोखा-छहरे सडकमा पर्ने ढिकुरे पक्की पुलमा क्षति, पञ्चकन्या गाउँपालिका –२ र तादी गाउँपालिका ५ जोड्ने आप्रह पक्की पुल क्षति, तादी–४ र पञ्चकन्या–४ जोड्ने सातबिसे पक्की पुल क्षति, तादी–४ र दुप्चेश्वर–५ जोड्ने भ्याङले पक्की पुल र सोही स्थानमा निर्माणाधीन बुद्धभूमि हाइड्रोपावरमा क्षति, दुप्चेश्वर–५ र ६ जोड्ने चन्द्रवती खोलाको निर्माणाधीन पक्की पुल क्षति पुगेको छ ।
यस्तै दुप्चेश्वरको समुन्द्रटार बजार पुरै अतिजोखिममा परेको छ, दुप्चेश्वर–वडा न.२ बेप्चो गोडेगाउँ केही घर गोठ र खेतबारीमा क्षति, वडा न.३ राउतबेंसी कैकेश्वरी मावि र वारिपारिको खेतबारी र धान तथा मकैबाली क्षति, वडा न.४मा ३५/४०घर जोखिममा रहेको र खेतबारी बगाएको अवस्थामा छ । त्यसैगरी वडा न. ६ को मेघेको बगर खेतलाई बगाएको छ भने ढाडाखर्क नौबिसेस्थित यमलाल तामाङको घर एवम् आसपासमा सडक तथा बस्ती जोखिमपूर्ण अवस्थामा छ ।
सूर्यगढी गाउँपालिका वडा नं.१ बुलबुले काउले सेम्राङमा जमिन चर्किएर १५०घर र सानो भोर्लेमा १५० घर जोखिममा परेको छ । शिवपुरी वडा न.१को बिमडाँडा, वडा न.३ को मजुवा र वडा न.५ जेब्राङ घ्याङ र वडा न.६ गुर्जे र अर्खौले पहिरोले ठूलो मात्रामा क्षति पुर्याएको छ र गाउँबस्तीमा जोखिम बढाएको छ । ककनी गापामा वडा न. १ देखि वडा न.८ सम्मका सबै वडामा गरी ३७ घरधुरी र ५० ओ रोपनी खेतबारीलाई क्षति गराएको छ ।
पासाङ ल्हामु सडकको बेत्रावती खण्डको तिरतिरे भिरको पहिरोले यातायात अवरुद्ध हुने गरेको छ । जिल्लाभरि नै सडकहरु भत्किएका छन् बत्तिका पोलहरु डलेका छन् । र यातायात तथा बिजुली एवम् सञ्चार अवरुद्ध अवस्थामा छ ।