नुवाकोट । नेपाल एक कृषि प्रधान देश । यहाँको हावापानी र प्राकृतिक वातावरण समेत कृषिका लागि उपयुक्त छ । तर, विडम्बना, कृषि प्रधान देश भएर पनि बिउबिजन, कृषि सामग्रीलगायत धेरैमा नेपाल परनिर्भर हुनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा देशको अर्थतन्त्र कमजोर अवस्थामा छ ।
अबका दिनमा आफैंले हरेक कुराको सुरुवात गर्नुपर्छ र केही वर्षभित्रै आत्मनिर्भर कृषि अर्थतन्त्र विकास लागि संघीय व्यवस्थापछिको कतिपय स्थानीय सरकारले काम थालनी गरिसकेका छन् । यसकै एक उदाहरण हो, नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका । बेलकोटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीमात्रै नभई कृषिको आधुनिकीकरणसहित व्यावसायिकतामा जोड दिन र त्यसका लागि आवश्यक सिँचाई सुविधाका लागि नगर प्रमुख जगतबहादुर गुरुङ (जगत लामा) ले सक्रियता बढाउनुभएको छ ।
केही स्थानीय तहका सरकार प्रमुख जागिरे मानसिकता र भ्रष्टाचारमा लिप्त भएको खबरहरु सम्प्रेषण भइरहेका बेला नगर प्रमुख लामा भने नि:स्वार्थ भावनाले बिदाको समयमा पनि कृषिबाली अवलोकन र फर्महरु अवलोकन गर्न व्यस्त हुनुहुन्छ । उहाँ व्यावसायिक कृषकको अवस्था, बजारलगायत कृषिको विषयमा बुझ्नलाई फर्ममै पुग्ने गर्नुहुन्छ ।
कार्यालय बिदाको समयमा उहाँ कृषिका समस्या, समाधान र सम्भावना खोजीको निम्ति खेतबारी, फर्म र विभिन्न कृषि विज्ञहरूसँग नियमित भेटघाट छलफल र अन्तरक्रियामा रहनुभएको भेटिनुहुन्छ । यही पनि शनिबार प्रमुख लामाले ललितपुरको गोदावरीस्थित सर्वश्रेष्ठ बीउ उत्पादन केन्द्रका प्रमुख एवम् बिउ विशेषज्ञ प्रवेश श्रेष्ठसँगको भेटमा आफ्नो नगरपालिका विशुद्ध ग्रामीण नगरपालिका भएकोले त्यहाँको सुहाउँदो कृषिबारेमा जानकारी लिनुभयो ।
नगरपालिकाभित्र रहेका कृषक, कृषि फर्म, कृषि समूह र सहकारी संस्थाहरूसँग मिलेर नगरभित्र नै आवश्यक बीउबिजन उत्पादनमा लाग्ने योजनामा रहेकोले तरकारीजन्य वस्तुको बीउ उत्पादनका निमित्त सर्व श्रेष्ठ सीडसँग प्राविधिक सहयोगको लागि आग्रहसमेत गर्नुभयो । सम्भावना बोकेको ठाउँमा स्थानीय बेरोजगार युवाहरूलाई विदेशिनेबाट रोकेर नेपालमै रोजगारी दिलाउने वातावरण बनाउनका लागि प्राविधिक सहयोगको लागिसमेत आग्रह गर्नुभयो ।
बेलकोटगढीमा उत्पादन हुन सक्ने बीउबिजनको बारेमा अध्ययन अनुसन्धान गरी कृषकहरूलाई समय/समयमा आवश्यक परामर्श गरिदिन आग्रह गर्नुभएको छ । यसको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै कार्यहरूको लागि तयार रहेको उहाँले बताउनुभयो ।
नगरप्रमुख गुरुङले आउँदो वर्षहरूमा बीउबिजनहरू अन्यत्रबाट किन्नुपर्ने वातावरण अन्त्य गर्ने र बिस्तारै धान, गहुँ, मकै, कोदो र आवश्यक अन्य खाद्यान्न बालीको बीउ उत्पादनमा लाग्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । जसले गर्दा किसानले गुणस्तरीय बीउ प्रयोग र उत्पादनमा वृद्धि हुने र किसानको मुनाफाको सुनिश्चितता हुने अपेक्षा रहेको बताउनुभएको छ ।
प्रमुख लामा भन्नुहुन्छ, 'कृषिमा क्रान्ति बोलेर मात्रै नआउने र यसको लागि आधुनिकीकरण, यान्त्रिकीकरणमा लागेर गुणस्तरीय बीउबिजन र समयमा नै मलको व्यवस्थापन गरेमात्रै कृषि क्रान्ति हुनेछ र मेरो उद्देश्य पनि नगरलाई कृषिमा आत्मनिर्भर बनाउने हो ।'
लामा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित हुनु भएको हो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित जित्नुभएका लामाले नगरलाई समृद्ध बनाउन कृषि, पर्यटनलगायत क्षेत्रको विकासका साथै नगरमा नागरिकले स्वास्थ्य, शिक्षा सर्वसुलभ ढंगले पाउन् भन्ने हेतुले पनि कारबाही अगाडि बढाउनु भएको छ । १३ वटा वडा रहेको बेलकोटगढी नगरपालिका साविक गाविसहरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ, मदानपुर (१-६ र ९) समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट नगरपालिकाको नामकरण गरिएको हो | यसको क्षेत्रफल १५५.६ वर्ग किलोमिटर छ | यस पालिकाको पूर्वमा ककनी गाउँपालिका, पश्चिममा तारकेश्वर गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा विदुर नगरपालिका, लिखु गाउँपालिका र तारकेश्वोर गाउँपालिका र दक्षिणमा धादिङ जिल्ला रहेको छ |
यस नगरपालिकामा ऐतिहासिक प्रशिद्ध गढी बेलकोटगढी, चिम्टेश्वोर महादेवजस्ता तीर्थस्थलसमेत छन् |