काठमाडौं । किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा प्रकाशित 'स्मारिका' विमोचन गरिएको छ ।
तामाङ रिमठिम पर्यटन सञ्जालले बुधबार काठमाडौंको पकनाजोलस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा पूर्वरक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, आयोजक संस्थाका अध्यक्ष अमर बमजन तामाङले स्मारिका विमोचन गर्नुभएको हो । स्मारिकामा आरोही तामाङको संघर्ष, उहाँले पुर्याउनुभएको योगदान, विभिन्न निकायबाट उहाँले प्राप्त गर्नुभएका सम्मानहरु, उहाँप्रति विभिन्न व्यक्तिहरुले दिएको प्रतिक्रिया, लेख-रचना र तामाङ रिमठिम पर्यटन सञ्जालको गतिविधि समेटिएका छन् ।
स्मारिका प्रकाशक तामाङ रिमठिम पर्यटन सञ्जाल र सहप्रकाशक तामाङ सोसाइटी अफ अमेरिका रहेको छ । स्मारिका विमोचन कार्यक्रममा महासचिव छेटुप लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने पत्रकार विष्णु मोक्तानले स्मारिकाका विषयबारे प्रकाश पार्नुभएको थियो ।
संस्थाका पदाधिकारी, पर्यटनसँग सम्बन्धित विभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थिति थियो ।
क्यान्सरले थलिनुभएका आरोही शम्भू तामाङको गत असार २३ गते हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा निधन भएको थियो । उहाँ ६७ वर्षको हुनुहुन्थ्यो । तामाङले सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी गिनिज बुकमा नाम लेखाउन सफल हुनुभयो ।
सिन्धुपाल्चोकको ह्रिस्याङगोमा जन्मिनुभएका तामाङले सन् १९७३ मे ५ को दिन १७ वर्ष ६ महिना १५ दिनको हुँदा सगरमाथा सफल आरोहण गर्नुभएको थियो । उहाँले आरोहण गरेको २९ वर्षपछि मात्रै अर्का आरोही तेम्बाछिरीले १६ वर्षको उमरेमा सगरमाथा आरोहण गरेर तामाङको रेकर्ड तोडेको थियो ।