सोल । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) दक्षिण कोरिया आइपुग्नु भएको छ । नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाले सोमबार आयोजना गरेको अन्तरक्रियामा सहभागी हुन अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा सोमबार बिहान इन्छन एयरपोर्ट ओर्लिनुभएको हो । अर्थमन्त्री शर्मालाई एयरपोर्टमा जनप्रगतिशील मञ्च दक्षिण कोरियाका पदाधिकारी, गैरआवासीय नेपाली संघ (एनआरएनए)सहित कोरियामा रहेका नेपालीहरुले स्वागत गरेका थिए । मन्त्री शर्माको टोलीमा अर्थसचिव कृष्णहरि पुष्कर पनि सहभागी हुनुहुन्छ ।
उहाँहरुलाई स्वागतका लागि नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाका अध्यक्ष ईश्वर कठायत, वरिष्ठ उपाध्यक्ष जीवन खतिवडा, उपाध्यक्ष राजेन्द्र दुलाल, महासचिव रुद्र थापा, प्रवक्ता सागर पोखरेल, कोषाध्यक्ष बीबी तामाङ, निवर्तमान अध्यक्ष दिलीप धिताल लगायत एयरपोर्ट पुग्नुभएको थियो ।
नेपाली जनप्रगतीशील मञ्च दक्षिण कोरियाका अध्यक्ष ईश्वर कठायत, वरिष्ठ उपाध्यक्ष जीवन खतिवडा, महासचिव रुद्र थापा, प्रवक्ता सागर पोखरेल, कोषाध्यक्ष बीबी तामाङ, निवर्तमान अध्यक्ष दिलीप धिताल लगायत एयरपोर्ट पुग्नुभएको थियो ।
मन्त्री शर्माको प्रमुख आतिथ्यतामा राजधानी सोलमा सोमबार 'आत्मनिर्भर अर्थतन्त्र निर्माणमा प्रवासी नेपालीको भूमिका' विषयक बृहत् अन्तरक्रिया कार्यक्रम स्थानीय समयअनुसार मध्याह्न १२ बजेदेखि सुरु हुँदैछ । कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली राजदूत प्रा ज्योति प्याकुरेल (भण्डारी), गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरलगायत कोरियामा सक्रिय विभिन्न संघसंस्था, व्यवसायी र नेपाली सहभागी हुने आयोजकले जनाएको छ ।