काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका टिका पुनको एक सांगीतिक साँझ हुने भएको छ ।
दर्पण संगीतालयको आयोजनामा आगामी माघ २१ गते शनिबार 'टिका पुन सांगीतिक साँझ' हुन लागेको हो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । यसअघि भदौ ७ गतेका लागि तय गरिएको उक्त सांगीतिक साँझ तयारी नपुगेको भन्दै सारिएको हो । 'कलाकारहरुको जीवनको महत्वपूर्ण पर्व एकल प्रस्तुति रहेको हुँदा फेरि फेरि गरिन्छ, गरिन्न, बाँचिन्छ बाँचिन्न अलि सभ्य र भव्य साथै सधैंभरी स्मरण हुने गराउनलाई अलि तयारी नपुगेको हुँदा कार्यक्रमको मिति सारेकी हुँ । अब आउँदो माघ २१ गते शनिबार हुने जानकारी दिन चाहन्छु,' उहाँले फेसबुक लाइभमार्फत भन्नुभयो ।
गायिका पुनले एकल साँझ ७७ वटै जिल्ला जिल्लामा गएर गर्न असम्भव भएकोले देशका केन्द्रीय राजधानी काठमाडौंमा पढाईको सिलसिलामा, जागिर, व्यवसाय, विभिन्न पेसा, राजनीतिजस्ता कारणले सबैजना काठमाडौंमा भेला हुने हुँदा यहाँ नै कार्यक्रम गर्न लागेको बताउनुभयो । यहाँले कार्यक्रम नि:शुल्क हेर्ने व्यवस्था गरिएको जानकारी गराउनुहुँदै स्वेइच्छाले सहयोग गर्न अपिल गर्नुभयो ।
सर्खेतकी पुन २०६२ सालदेखि काठमाडौं बस्दै आउनुभएको छ । सांगीतिक जीवनमा सानैदेखि रमाउन चाहने पुनले ७ वर्षजति दोहोरी साँझमा काम गर्नुभयो । कक्षा ७/८ मै अध्ययनरत रहँदा २०५७ सालदेखि गीत रेकर्ड थाल्नुभयो । २०६५ सालमा रमेश बिजीको शब्द र प्रेमदेव गिरीको लयमा पहिलो एल्बम तीज कोसेली बजारमा ल्याउनुभयो । आफ्नै एल्बम आधा दर्जन जति भए पनि उहाँले ४ हजारभन्दा बढी गीत गाइसक्नुभएको छ । लोक तथा दोहोरीबाहेक पूर्वेली, आधुनिक, लोकगीत गाउनुभयो । उहाँले गाउनुभएको 'लालुपाते फूल छैन रुखमात्रै, बेसारेको मन छैन मुखमात्रै', 'छितिज पारि उनको बस्तीमा', 'पोखरा फेल ताल'लगायत लोकप्रिय छन् ।
उहाँले सांगीतिक प्रस्तुतिका लागि बेलायत, हङकङलगायत डेढ दर्जन मुलुकसमेत घुमिसक्नुभयो ।