काठमाडौं । एमयुएफसी विजयचोक युथ क्लब काठमाडौंले आगामी असोज ६ गतेबाट हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्ने भएको छ । सन् २०१२ मा गठन भएको एमयुएफसी बेलायती फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका समर्थकको टोली हो ।
सुरुवाती दिनमा सातामा विदाको दिन शनिवार भेला भएर एक आपसमा खेल्ने गर्थे । विस्तारै क्लबमा सदस्यको संख्या बढ्दै गएपछि क्लब गठन गरेर विभित्र प्रतियोगिताहरुमा सहभागिता जनाएको थियो । नैकाप गोल्डकप, शुटर्स कपलगायत विभित्र प्रतियोगितामा अनुभव बटुलेको क्लबले गत वर्ष सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको सुपर ८ मा पुग्न सफल भएको थियो ।
समुदायमा हुने विकास निर्माण, जनचेतना मुलका कार्यक्रमहरु, स्वास्थय शिविर,कोभिड १९ बाट प्रभावित व्यक्तिहरुलाई खाना बनाएर खुवाउने, खाद्यात्र वितरण र नि:शुल्क कोभिड आइसोलेसन सेन्टर चलाएर समेत स्थानीयलाई सहयोग गरेको थियो । आगामी दिनमा सामाजिक सेवासँगै व्यावसायिक फुटबललाई पनि निरन्तरता दिनका लागि बिहीबार (असोज ६ गते)बाट हुने ‘सी’ डिभिजन लिग छनौट खेल्न लागेको क्लबका मेनेजर सुरेश नेपालले जानकारी दिए ।
नेपालका अनुसार एमयुएफसी विजयचोक युथ क्लबबीच सहकार्य गरेर दोस्रो पटक लिग फुटबल खेल्न लागेको हो ।
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलका लागि सार्वजनिक गरेको तालिका अनुसार असोज ६ गतेबाट उपत्यकामा सुरु हुने छनौट प्रतियोगितामा देशभरका ६० क्लब सहभागी हुने जानकारी दिएको छ । एन्फाले सहभागी ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् ।
हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण तथा नकआउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन् । यी समूहका सबै खेल कार्तिक २४ गते समापन हुनेछ ।